• २०८१ बैशाख १२ बुधबार

म्याग्दीमा तत्कालका लागि खाने र बस्ने समस्या समाधान

kharibot

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत तीन विद्यार्थी भोकभोकै विद्यालय जान थालेको थाहा भएपछि उनीहरुका लागि खाने र बस्ने व्यवस्था जुटाइएको छ ।

आमाबाबुविहीन तीन विद्यार्थीलाई खाद्यान्नलगायत स्टेशनरी र विद्यालय पोसाकका लागि अल्पकालीन सहयोग जुटाइएको हो ।

अरूले दिए मात्र खान पाउने  नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाबारे  आइतबार राससमा प्रकाशित ‘भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका’  शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि उनीहरुलाई सोमबार तीन मनकारी व्यक्तिले आर्थिक सहयोग गरेर खाद्यान्नलगायत आवश्यक सामाग्री जुटाएका हुन्  ।

दुई वर्षअघि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन (बिबिसी)ले तयार पारेको वर्षका १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले रु २१ हजार ५०० बराबरको खाद्यान्न ती तीन बालबालिकालाई उपलब्ध गराईन्  ।

बेवारिसे लासको व्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी उनले आवश्यक स्टेशनरी र विद्यालय पोसाकलगायत अन्य सामग्रीका लागि थप रकम उपलब्ध गराउने पनि बताइन् । त्यसैगरी सिराहा नगरपालिका सिराहा घर भई हाल कतारमा कार्यरत डा एम.आलमले रु २० हजार सहयोग गरे भने काठमाडौँबाट नानीकिरण सुनुवारले ११ हजार सहयोग गरे ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जुको बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसँग विवाह गरी गएपछि अञ्जुको बिचल्ली भएको थियो । उनलाई एक महिनाका लागि स्थानीय बुद्धवीर चर्मकारले घरमा राख्ने र सहयोगी दाताले दिएको खाद्यान्न  खुवाउने भएका छन् । 

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका–७ वाइन्दाफाँटका पुजन र सृष्टिलाई पनि खाद्यान्न, स्टेशनरीलगायत सामग्री प्रदान गरिएको छ । पुजनका बुबा रिम फगामीको २०७८ साल कात्तिकमा मृत्यु भएको र आमा  अर्कैसँग हिँडेपछि  पुजनले अहिले साथीहरुको घरमा आश्रय लिइरहेको  विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन् ।

पुजनलाई खाद्यान्न जुटे पनि बस्नका लागि भने अझै टुङ्गो लाग्न सकेको छैन । त्यस्तै बुबा र आमा दुवैले अर्को विवाह गरेर अलपत्र छोड्दा असहाय बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टिलाई हजुरआमाले पाल्ने र खाद्यान्न विद्यालयले सहयोग जुटाएर उपलब्ध गराउने भएको छ ।

मङ्गला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता विकले अर्को विवाह गरेर अलगअलग भएपछि छोरी सृष्टिको बिचल्ली भएको थियो ।

विद्यालयमा अध्ययनरत करिब ७७ विद्यार्थीहरुमध्ये १४ विद्यार्थीको अवस्था अञ्जु, पुजन र सृष्टिको भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए ।

बुबाको मृत्यु भएको, आमाले अर्कैसँग विवाह गरी गएको साथै आमा र बुबा दुवैको माया नपाएका विद्यार्थीहरुको अवस्था देख्दा आँखाबाट आँसु आउने गरेको शिक्षिका घनदेवी घर्तीको गुनासो थियो । अरू मनकारी व्यक्तिहरुले पनि उनीहरुको पढाइलेखाइका खर्च व्यहोरिदिए ती असहाय बालबालिकाहरुलाई ठूलो सहयोग हुने उनको भनाइ थियो ।

यसअघि कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको वरण्डामा नै सुतेर रात बिताउने गरेको उनले बताइन् । 

कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । अधिकांश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको खासै हेरचाह नगर्ने भएकाले  विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिँदा शिक्षक शिक्षिकाहरु समस्यामा पर्दै आएका थिए ।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरुलाई आश्रय दिने विद्यालयको योजना छ ।

त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरुसँग सहयोगका लागि  आग्रहसमेत गरेको छ ।

“सधैँभरि शिक्षक शिक्षिकालाई मात्र समस्या पार्ने होइन, अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ, अहिले तत्कालै दुईकोठे भवन बनाएर भए पनि उनीहरुलाई छात्रवासमा राख्ने प्रबन्ध गर्नुपर्छ,” बगरफाँट स्थायी घर भई हाल काठमाडौँ बस्नुहुने वरिष्ठ कृषि वैज्ञानिक डा टीकाबहादुर कार्कीले भने ।

यी असहाय विद्यार्थीहरुलाई सहयोग गर्न चाहाने मनकारी व्यक्तिहरुले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्नसक्ने विद्यालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै