• २०८१ बैशाख ८ शनिबार

पार्टीको अनुहार जनप्रतिनिधिमा देखिनुपर्छ- वर्षमान पुन

kharibot

बनेपा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुनले हरेक जनप्रतिनिधिको अनुहारमा पार्टी देखिनुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले हरेक जनप्रतिनिधिले गरेको कामको जिम्मा पार्टीले लिने बताए ।

विगतका निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएर गएपछि पार्टीले कहिल्यै पनि खोजेन र निर्वाचित भएकाले पनि पार्टीलाई नखोजेका कारण समस्या आएको जनाउँदै अब त्यसो नहुने उनले बताए । “अब त्यस्तो हुँदैन, विगतका अनुभवका आधारमा त्यसको समीक्षा गर्दै नयाँ योजना र नीतिका साथ पार्टीले तयार गरेको नीति र कार्यदिशाका आधारमा काम गर्ने वातावरण बनाउन आवश्यक छ”, उनले भने, “कार्यशैलीमा भएका कमी–कमजोरी केलाएर त्यसको समीक्षा गर्दै राम्रो कामलाई जनतामाझ पुर्याउने र नराम्रो गरेको खण्डमा सुधार गर्दै अगाडि बढ्नका लागि पार्टीले दिशानिर्देश गर्नेछ ।”

सो अवसरमा उनले जनताको सहभागितामा शासन सञ्चालन गर्ने गरी सङ्घीयताको डिजाइन गरेका कारण मौलिक अधिकारसहितको सङ्घीयता भएको स्थानीय सरकारको जिम्मेवारी पाउनु गौरवको कुरा भएको उल्लेख गर्दै जनप्रतिनिधिले पार्टीको विचार, नीति, कार्यशैली र राजनीतिअनुसार काम गर्छ कि गर्दैन भन्ने परीक्षाको विषय भएको बताए । 

विगतमा विजयी भएका जनप्रतिनिधिले हारेको ठाउँमा त्यसको जवाफ दिनुपर्ने बताउँदै नेता पुनले सरकारमा हुँदा हार्ने र बाहिर हुँदा जित्ने कसरी भइरहेको छ भन्ने विषयको समेत कारण खोजी गरिने उनको भनाइ छ । सङ्घीयता, समावेशिता र स्थानीय स्वायत्तता माओवादीको नीति भएकाले विगतमा विजय हासिल गरेर व्यवस्था बदलेको र यसपटक भएको विजयले जनताको आर्थिक अवस्था बदल्ने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै