• २०८१ बैशाख १३ बिहीबार

रियल म्याड्रिडसँग बदला लिने सलाहको चाहाना !

kharibot

काठमाडौँ । तीन साताअघि लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा इजिप्टका स्टार फुटबलर मोहम्मद सलाहलाई फाइनलमा कुन टोलीसँग खेल्न मन लाग्छ भनेर सोधिएको थियो, जसमा उनले रियल म्याड्रिड भने । अब मे २८ मा च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड र लिभरपुल आमनेसामने हुँदा, सलाहले रियललाई २०१८ को फाइनलको तीतो सम्झनाको बदला लिने तयारी गरेका छन् ।

सन् २०१८ मा युक्रेनको कीभमा भएको लिभरपुल र रियल म्याड्रिडबीचको फाइनल खेलको पहिलो हाफमा म्याड्रिडका सर्जियो रामोसले सलाहलाई धकेलेर मैदानमा लडाई दिएका थिए । प्रहारबाट सलाहको काँधमा चोट लाग्यो र उनी रुँदै मैदान छाडे । त्यसपछि उनी पुरै खेलमा मैदान प्रवेश गर्न सकेनन् । फलस्वरूप यो फाइनल म्याड्रिडसँग १-३ ले पराजित भयो ।

अब चार वर्षपछि, रामोस म्याड्रिडको टोलीमा छैनन्, तर ती तीतो सम्झनाहरूले इजिप्टियन स्ट्राइकरको दिमाग छोडेका छैनन् । अबको रणनीतिबारे सोध्दा उनले अब बदला लिने समय आएको बताए । तर, स्पेनिस च्याम्पियन रियल म्याड्रिड अहिले उच्च फर्ममा रहेको छ । करिम बेन्जेमाले च्याम्पियन्स लिगमा १५ गोलसहित लिगको शीर्ष स्थानमा छन् भने सलाहले ८ गोल गरेका छन् । सलाह मड्रिडका यी फुटबलरलाई कडा प्रतिस्पर्धा दिन चाहन्छन् ।

तेस्रो पटक गोल्डेन बुट अवार्ड जिते

सलाह यस सिजन प्रिमियर लिगमा २३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । लिभरपुलबाट खेल्दै उनले पाँच वर्षमा तेस्रो पटक गोल्डेन बुट अवार्ड पनि जिते । उनले टोटनह्यामका फरवार्ड सन ह्युङ मिनसँग अवार्ड बाँडेका हुन् । यो अवधिमा उनी उत्कृष्ट फर्ममा रहेका छन् । उनले म्यानचेस्टर युनाइटेडविरुद्ध ह्याट्रिक सहित ९ खेलमा १० गोल गरेका थिए ।

लिभरपुलका लागि पाँच सिजन बिताएका सलाहको क्लबसँगको सम्झौता सकिने क्रममा रहेको छ र उनले क्लबसँग नयाँ सम्झौता गर्न बाँकी छ । उनी लिभरपुलमा रहने या नरहने भन्ने च्याम्पियन्स लिग पछि नै तय हुने देखिएको छ । तर सलाहले कम्तिमा अर्को सिजनसम्म लिभरपुलमै रहने इच्छा व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै