• २०८१ बैशाख ८ शनिबार

दोर्दी खोलाको २७ मेगावाट विद्युत प्रसारण लाइन अभावले राष्ट्रिय ग्रिडमा जोडिएन

kharibot

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन्।

प्राधिकरणले उदीपुरदेखि मध्यमस्र्याङ्दीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत जोडिन नपाएको जलविद्युत आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए ।

उनका अनुसार लाइनको १.८ किलोमिटर मात्र तार तान्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइन तयार नहुँदा आयोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको हो । आयोजनाको सबै काम सम्पन्न गरेर परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो साताबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने योजना भएपनि लाइन तयार नहुँदा विद्युत खेर गइरहेको छ ।

विसं ०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं ०७५  भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । पछि समय थपेर विसं ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं ०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं ०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि विसं ०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन । सो पश्चात फेरि वैशाखदेखि उत्पादन गर्ने योजना भएपनि लाइन समस्याले गर्दा विद्युत जोडिन पाएन् ।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुराएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।  आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले ४ अर्ब ६४ करोड रुपैयाँसम्म खर्च भएको अनुमान गरिएको छ । आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै