• २०८१ बैशाख ६ बिहीबार

जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो- महामन्त्री थापा

kharibot

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन्  ।

नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले  कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन्  । 

महामन्त्री थापाले भने, “जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय तहको निर्वाचनले गरेको छ, यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धि र सफलता प्राप्त गरेको छ, अब आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग ।”
    
एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो ।

उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए  ।

स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको उनको भनाइ थियो । 

महामन्त्री थापाले अबको आमनिर्वाचनमा भक्तपुरको उम्मेदवार चयनमा पार्टीले कुनै कमजोरी नदोहोर्याउने र भक्तपुरले रोजेकै व्यक्तिलाई टिकट दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले  स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको गर्नुपर्ने कामलाई कुनै पार्टी विशेष भनेर विभेद नगरी काम गर्न र गर्न नहुने काम कुनै पनि नगर्न निर्देशन दिए  । 

महामन्त्री थापाले भने, “अब स्थानीय तहको जनप्रतिनिधिको मूल्याङ्कन पार्टीले गर्छ, तपाई मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल, तिमीहरुले गर्नुपर्ने कति काम गरे र गर्नै नहुने कति काम गरे कि भएन, त्यसको मूल्याङ्कन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्याङ्कन रिपोर्ट कार्डको व्यवस्था गरेको छ ।”

नागरिकका हक, जवाफदेहिता, सेवा, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान पुर्याउन जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले पार्टीबाट विज्ञ, व्यवस्थापन एवं अन्य माग भएका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने सबैलाई कारबाही सुरु गर्ने बताए । कार्यक्रममा कांग्रेसबाट मध्यपुर नगरपालिकामा प्रमुखमा विजयी हुने सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुखमा निर्वाचित जीवन खत्रीले पार्टीको निर्देशन र सङ्कल्पअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

त्यसअवसरमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाबाट निर्वाचित ६५ जना जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै