• २०८१ बैशाख ८ शनिबार

सिरहाको गोलबजारमा एमाले विजयी

kharibot

लहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा  श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन् ।

श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याउनुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरे ।

कूल १३  वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७  स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । 

तलबभत्ताबाट मासिक राहत वितरण गरिने  

लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणा गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले नियमानुसार आफूले नगरपालिकाबाट पाउने तलबभत्ताबाट मासिक दलित बस्तीमा चामल, दाल, नुन र तेललगायतका सामग्री वितरण गर्ने घोषणा गरे । तलबभत्ताबाट नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते प्रतिपरिवार १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने नगरप्रमुख चौधरीले बताए ।

यस्तै उनले प्रत्येक नागरिकको व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने र मुसहर समुदायलाई किरिया खर्चका लागि रु पाँच हजार नगद नगरपालिकाले दिने घोषणासमेत गरे । नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क गरिने जानकारी  दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै