पाल्पाको रम्भामा एमाले विजयी

kharibot

रामपुर ।  पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा  नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का  दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाएका छन् । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत  सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भएकी छन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरे ।

अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । 

सम्बन्धित समाचार