• २०८१ बैशाख ८ शनिबार

स्थानीय तह निर्वाचन : कर्णालीमा काँग्रेस बन्यो पहिलो दल

kharibot

कर्णाली । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार कर्णालीमा नेपाली कांगे्रसले ३२, नेकपा (माओवादी केन्द्र) ले २३, नेकपा (एमाले) ले १५ र नेकपा (एकीकृत समाजवादी) ले चार तथा स्वतन्त्र उम्मेदवारले पाँच पालिकाको नेतृत्व पाएका छन् ।

विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ भने तेस्रो दल कांगे्रस ३२ पालिकाको नेतृत्व गर्दै पहिलो शक्तिका रुपमा स्थापित भएको छ । कांग्रेसले रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालीकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व जित्न सफल भयो ।  

एमाले विभाजनपछि स्थानीय तहमा पहिलो शक्ति बनेको माओवादी केन्द्र यसपटकको निर्वाचनमा दोस्रोमै सीमित बन्न पुग्यो । विसं २०७४ मा २५ पालिकाको नेतृत्व लिएको माओवादी केन्द्र यसपटक २३ पालिकामा झरेको हो । माओवादी केन्द्रले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालीकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको छ । विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको दैलेखमा यसपटक दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ । 

एमालेले भने कर्णालीका कालीकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन । एमालेले यसपटक सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका तीन र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ । एकीकृत समाजवादीले डोल्पाका दुई, मुगु र सल्यानका एक÷एक पालिकाको नेतृत्व पाएको छ । 

यसपटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जबकि विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै