• २०८१ बैशाख १३ बिहीबार

नवलपरासी- एमाले र काँग्रेस ३/३, माओवादी केन्द्रको एक स्थानीय तहमा जित

kharibot

परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली काँग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने काँग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक/एक स्थानीय तहमा जितेका छन् ।

पाल्हीनन्दन गाउँपालिकाको मतगणना आज बिहान सकिएसँगै जिल्लाका सातवटै स्थानीय तहको नतिजा सार्वजनिक भएको हो । अघिल्लो निर्वाचनमा चार स्थानीय तहको नेतृत्व जितेको काँग्रेसले यस पटक एउटा नेतृत्व गुमाएको छ भने दुई स्थानीय तहको नेतृत्व जितेको एमालेले यस पटक थप एक जोड्न सफल भएको छ । माओवादी केन्द्रले भने एउटा स्थानीय तह जितेकामा अहिले पनि दोहोराएको छ ।

उपप्रमुखमा यसअघिको निर्वाचनमा काँग्रेसले चार स्थानीय तहमा जितेकोमा यस पटक तीनवटामा खुम्चिएको छ भने एमालेले अघिल्लो पटक तीन स्थानीय तहमा जितेकोमा यस पटक दुईमा झरेको छ । माओवादी केन्द्रले भने अघिल्लो पटक उपप्रमुखमा विजयी हासिल नगरे पनि यस पटक एउटा स्थानीय तहको उपप्रमुखमा जितेको छ । अघिल्लो पटक नेतृत्वमै नरहेको राप्रपाले यस पटक एउटा स्थानीय तहको उपप्रमुख जित्न सफल भएको छ ।

जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । एमालेले रामग्राम नगरपालिकामा प्रमुख, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने काँग्रेसले बर्दघाट नगरपालिकामा प्रमुख, पाल्हीनन्दन गाउँपालिकामा उपप्रमुख, प्रतापपुर र सुस्ता गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

माओवादी केन्द्रले पाल्हीनन्दन गाउँपालिकाको प्रमुख र बर्दघाट नगरपालिकाको उपप्रमुख जितेको छ भने राप्रपाले रामग्राम नगरपालिकाको उपप्रमुख जितेको छ । दुई लाख ३७ हजार १२५ मतदाता रहेको जिल्लामा ७७.७६ प्रतिशत अर्थात् एक लाख ८४ हजार ३८२ मत खसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै