• २०८१ बैशाख ७ शुक्रबार

उत्साहजनकरूपमा मतदान सम्पन्न

kharibot

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज भएको मतदान केहि घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो ।

प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको प्रहरीले बताएको छ ।

त्यस्तै विवाद र झडपका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको छ भने केहि जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो ।

विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले बताएको छ । हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो ।

स्थानीय तहको निर्वाचन पहिलोपटक एकै चरणमा गरिएको हो । नेपालमा संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि विसं २०५४ मा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो ।

अहिले एकैपटक देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ०७ बजेदेखि मतदान प्रारम्भ भएको थियो । यसपटक ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक-एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने छन् । 

स्थानीय तह सदस्य निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् । 

कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा रहनुभयो । त्यसमध्य ३९० जना यसअघि नै निर्विरोध भइसक्नुभएको छ । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका छन् । ६५ हजार ८६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक तथा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए ।

आज मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिए पनि पाँच बजे मतदानस्थलभित्र प्रवेश गरेकाले मत खसाल्न पाउने आयोगले व्यवस्था गरको थियो ।

अधिकांश मतदान स्थलबाट अब मतपेटिका संकलन गरेर मतगणना स्थलमा लैजाने र आजै मतगणना शुरु गर्ने तयारी शुरु भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै