• २०८१ बैशाख १२ बुधबार

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलो दिनको खेलमा सुवासको अग्रता

kharibot

काठमाडौं । गोकर्ण गल्फ क्लबमा सोमबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो राउण्डमा एमेच्योर सुवास तामाङ दोस्रो स्थानका सुक्रबहादुर राई भन्दा एक स्ट्रोकले अगाडि रहेका छन् ।

तेरौं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता सुवासले लिडरबोर्डको शीर्ष स्थान रहने क्रममा आठ-अन्डर ६४ को बोगी-फ्री कार्ड खेले। भर्खरै मात्र इन्डियन टुरमा ६ वटा खेल खेलेर यो प्रतियोगितामा सामेल भएका प्रो शुक्रबहादुर राईले सात-अन्डर ६५ को स्कोर बनाए। एमेच्योर टाशी छिरिङ र प्रो रवि खड्काले पाँच-अन्डर ६७ बनाउँदै तेस्रो स्थानमा बराबरी गरे। नेपालका नं. १ प्रो भुवन नगरकोटी, दिनेश प्रजापति र एमेच्योर सद्भाव आचार्य चार-अन्डर ६८ को स्कोर सहित पाँचौं स्थानमा रहे।

त्यसैगरी तीन खेलाडी कमल तामाङ, रमेश अधिकारी र तीर्थ पौडेल दुई-अन्डर ७० को बराबरी स्कोर खेल्दै आठौं स्थानमा रहे भने एक-अन्डर ७१ को स्कोर बनाएका धनबहादुर थापा उनीहरूलाई पछ्याउँदै छन्। एमेच्योर वाङ्चेन धोन्डुप र सुरेश तामाङ इभन-पार ७२ बनाउँदै प्रो भुवन कुमार रोक्कासँगै बाह्रौँ स्थानमा रहे।

पहिलो स्थानमा रहेका सुवासले अघिल्लो नौमा पाँच-अन्डर ३१ र पछिल्लो नौमा तीन-अन्डर ३३ को स्कोर खेले। पहिलो दुई होलमा पार खेलेका उनले तेस्रोबाट लगातार तीनओटा बर्डी खेले। त्यसपछि सुवासले पाँचौं होलमा इगल खसाले। टर्न लिएपछि भने सुवासले १०औं, १५औं र १७औं होलमा बर्डीज खेले।

यसैगरी सुक्र बहादुरले अगाडिको नौमा तीन-अन्डर ३३ र पछाडिको नौमा चार-अन्डर ३२ कार्ड खेले। उनले टर्न लिनु अघिको तेस्रो, पाँचौं र सातौं होलमा बर्डीज खेले। आफ्नो दसौँ र तेर्हौं होलमा खेलेका बोगीका विरुद्ध उनले १२औं, १४औं, १७औं र १८औं होलमा बर्डीज खेले भने ११औं होलमा इगल खसाले।

एमेच्योर टाशीले आफ्नो बोगी-फ्री राउण्ड खेल्ने क्रममा अघिल्लो नौमा तीन-अन्डर ३३ र पछिल्लो नौमा दुई-अन्डर ३४ जोडे। बर्डी खेलेर दिनको सुरुवात गरेका उनले टर्न लिनु अघि तेस्रो र पाँचौं होलमा सटहरू बचाए। पछाडि नौमा भने टाशीले १५औं र १७औं होलमा बर्डीज कार्ड खेले।

त्यसैगरी रवि खड्काले पहिलो नौमा इभन-पार ३६ र पछाडिको नौमा पाँच-अन्डर ३१ खेले। बोगीबाट राउन्ड सुरु गरेका उनले चौथो र पाँचौं होलको बर्डिज विरुद्ध आठौं होलमा अर्को बोगी थपे। पछाडिको नौ होलमा रविले ११ औं होलबाट लगातार तीनवटा बर्डी कार्ड सँगै १५औं र १७औं होलमा थप दुई बर्डी बनाए।

 
सूर्य नेपालको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको यो प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४४ गल्फ खेलाडीले भाग लिइरहेका छन्। यस प्रतियोगिता दोस्रो राउण्डपछि कट लागू हुनेछ। शीर्ष २१ प्रोफेसनल र कम्तिमा ६ एमेच्योरहरू अन्तिम दुई राउन्डका लागि छनौट हुनेछन्। कुल रु. ७७५,००० नगद पुरस्कार रहेको यो प्रतियोगितामा उत्कृष्ट तीन खेलाडीले क्रमशः रु. १,३५,०००, रु. ८८,००० र रु. ६५,००० प्राप्त गर्नेछन् भने शीर्ष २१ मा रहेका अन्य खेलाडीले पनि नगद पुरस्कारको आफ्नो अंश प्राप्त गर्नेछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै