समको नाटक प्रेमपिण्डमा सोलमेटको खोजी

kharibot

विपुल सिजापति

हरेक मान्छे एक पृथक् जीव हो, एक पृथक् अस्तित्व हो  । हरेक मान्छेको सोचाई, व्यवहार, आदर्श, नीति, दर्शन आदी सबै सबै वस्तुतः केन्द्रमा भने पृथक् नै हुन्छ । मानिसको यही पृथकताले अनेक कुराहरू जन्माउँछ, गर्न नसकिने असम्भव जस्ता कुराहरू पनि हुन्छन् भने सरल र सम्भव कुराहरू पनि हुँदैन । यी सबैको कारक तत्त्व भनेको मानिसको संवेदना नै हो । मानिसले गर्ने प्रेमको मूल पनि यही संवेदना हो ।

प्रेम के हो ? कसरी हुन्छ ? भन्ने कुराको ठेट जवाफ कसैले दिन सकेका छैनन्, किनभने यो नितान्त व्यक्तिगत संवेदनाको अधीनमा रहन्छ र हरेक व्यक्तिको संवेदना फरक फरक हुन्छ । भनिन्छ, मानिसले आमाबाबुलाई भन्दा आफ्ना बच्चालाई धेरै माया गर्छन् । पुरुषको २३ र महिलाको २३ क्रोमोजोमको संयोगमा ४६ क्रोमोजोम मिलेर जन्मिने बच्चामा आफ्नो डि.एन.ए. र क्रोमोजोम हुनाले मानिस आफ्नो बच्चालाई धेरै माया गर्छन् । तथापि, हरेक आमाबाबुले आफ्ना सबै बच्चाहरूलाई बराबर माया गर्छन् भन्ने कुरा भने झुटो हो । एकातिर यो व्यवहार र प्रतिव्यवहारमा भर पर्न जान्छ भने अर्कोतिर जोडिएको संवेदनासँग पनि । सायद विषयान्तर हुन लाग्यो होला, हामी यहाँ भने बालकृष्ण समको नाटक प्रेमपिण्डलाई लिएर विपरीत लिङ्गी प्रेमको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

प्रेम र यौन दुई पृथक् तत्त्व हुन्, प्रेम मानिसको संवेदनासँग जोडिएको छ भने यौन प्रकृतिसँग । मानिस प्रकृतिको अधीनमा छ र यौन प्रकृति हो, मानिसको लागि जीवनको सार हो, पुरुषको लागि यो नै पुरुषत्व हो भने महिलाको लागि ममत्व । पुरुष बाबु बनेर र महिला आमा बनेर आफ्नो पूर्णताको परिचय दिन्छन् भने प्रकृतिलाई निरन्तरता पनि । यौन विरुद्ध जाने या यौनलाई मार्ने कार्य निश्चय नै प्रकृति विरुद्धको कार्य हो, जसको उदाहरण भनेको बाबाहरूका  थुप्रै चर्चित यौन काण्डहरू हुन् । उनीहरूले प्रकृतिलाई जित्न खोजे दबाउन खोजे, तर सकेनन्, मानिसले सक्दैन पनि, त्यसैले यौनमा गुप्त रूपमा लिप्त  हुन्छन् ।

स्व. वालकृष्ण समको नाटक प्रेमपिण्ड यही यौन र प्रेमलाई विषय बनाएर लेखिएको छ । नाटकमा सविता र नकुल युवा छन्, एक अर्कालाई प्रेम गर्छन्, तर सवितालाई प्रेम गर्ने अर्का एक चरित्र एडविल एडविल खलपात्रको रूपमा छन् भने नकुललाई माया गर्ने सुसारे साधारण चरित्रमा । तर यस नाटकमा खलपात्रको रूपमा देखिने एडविल नै वास्तवमा नाटकका नायक हुन् भन्ने मलाई लाग्दछ । मलाई समले समले यो चरित्रलाई अधुरै छोडेका छन् भन्ने लाग्दछ । नाटक वियोगान्त छ, तर एडविलको पक्षमा पूर्ण न्याय गरेर त्यस पात्रलाई राम्ररी बिट मारेर थन्क्याउने काम पनि भएको छैन । सविता र नकुलको प्रेम साधारण प्रेम हो, प्राकृतिक यौनको बसमा परेर गरिने विपरीत लिङ्गी यौन आकर्षणको उपज मात्र ।

"तेशे बगैर मर न सका कोहकन असद
सरगश्ता–ए–खुमार–ए–रुसूम–ओ–कुयूद था"
–गालिब

"तेशे (पत्थर फोड्ने फलामे हतियार) बिना कोकहन (पत्थर फोड्ने मान्छे) मर्न सकेन असद, त्यो पागल (फरहाद) पनि दुनियाँको रितमा जकडिएको या कैद थियो ।"

फरहाद कोकहन (पत्थर फोड्ने मान्छे) थिए, खलिफाको महल अगाडि तेशे (पत्थर फोड्ने फलामे हतियार, छिना हतौडा) हातमा लिएर राजकुमारी सिरिनको एक झलक पाउन उभिन्थे । खलिफाले एक दिन फरहादलाई भने, सिरिनलाई पाउने चाहना भए पहाड खनेर दूधको नदी मेरो महलसम्म ल्याऊ ।  फरहाद हुन्छ भनेर गए र पहाड खन्न थाले । बाबुको चाल बुझेकी सिरिन प्रेमीको बिछोडमा मरिन् । कसैले सिरिनको मृत्युको खबर फरहादलाई सुनायो, फरहादले तेशेले आफ्नो टाउकोमा हाने र मरे ।

गालिब भन्छन्, "फरहाद सच्चा प्रेमी थिएनन्, यदि हुन्थे भने सिरिनको मृत्युको खबर सुन्नासाथ ऊ त्यत्तिकै मर्नु पथ्र्यो, तर तेशेले आफैलाई हानेर मार्नु भनेको ऊ पनि दुनियाँको रीतिमा कैद थियो ।" सविता र नकुलको प्रेम पनि यत्ति नै थियो, भौतिक प्रेम । प्रेम त एडविल पनि सवितालाई गर्थे तर त्यो प्रेम नकुलको जस्तो भौतिक प्रेम नभएर आत्मिक प्रेम थियो ।

एडविलले सविताको शरीर हैन मन जित्न खोजेका थिए, सविताको मनको माया चाहेका थिए । आफ्नो कैद र नियन्त्रणमा हुँदाहुँदै पनि एडविलले सवितालाई स्वतन्त्र गर्दै जान दिए, जाँदाजाँदै सायद आफैलाई भने,  

"माया मारी गए पनि चित्त दुख्या छैन
गुनासो छ माया मर्दा म मरिन किन !"
–    पङ्क्तिकार

प्रेम अचम्मको भावना हो, प्रेम हुन कुनै कुराले छेक्दैन, न रूप, न गुण, न भेद, न उमेर ! न कानुन, न संस्कार, न शिक्षा, न अवस्था, न ज्ञानले नै यसलाई हुनबाट रोक्न सक्छ, यो केबल भइदिन्छ, बस् । बडो रहस्यमयी छ यो संवेदना, यो प्रेम ! जीवनमा यो एक पटक हुन्छ रे ! तर जब हुन्छ तब गहिरो हुन्छ, लैला मजनूँ, सिरि फरहाद, सोनी महिवाल या रोमियो जुलियट, र यिनै नाममा एडविललाई पनि जोड्न सकिन्छ ।

एडविलले सवितालाई गर्ने प्रेम आत्मिक प्रेम थियो । एडविलको जीवनमा स्वास्नी थियो, रखौटी थिए, तथापि एडविलको उनीहरूसँग केवल भौतिक प्रेम मात्र भयो, आत्मिक प्रेम भने केवल सवितासँग हुन गयो । उनले सविताबाट केवल माया चाहे, शरीर चाहेनन् । झट्ट हेर्दा सविता र एडविलको बेमेल उमेरले गर्दा एडविलको प्रेमलाई समाज या सामान्य मस्तिष्कले स्विकार्न गाह्रै हुन्छ । श्रीमती हुँदाहुँदै पनि श्रीमतीलाई प्रेम नगरेर रखौटी राख्ने र रखौटीबाट पनि सन्तुष्ट नभएका एडविल अकस्मात् किन सवितालाई प्रेम गर्न पुग्छन् यो गम्भीर र सोचनीय प्रश्न हो । वास्तवमा प्रेमको अभिलाषा बोकेका एडविलको अवचेतन मनले सोलमेटको खोजी गरिरहेको थियो । उनको यो खोज न त श्रीमतीमा टुङ्गियो न त रखौटीहरूमा नै उनले पाए । सामान्य अवस्थामा या सामान्य मस्तिष्कको संवेदनाले प्रेम भनेको या प्रेम गरेको व्यक्ति प्रेमी हुनसक्छ, जीवन साथी हुनसक्छ तर ऊ सोलमेट नै हुन्छ भन्ने कुनै जरुरी छैन । प्रेम विवाहपछि पनि सम्बन्ध बिग्रिएका छन्, जोडीमा कसैको मृत्यु पश्चात् पनि विवाह गरेका छन् । त्यो केवल आकर्षण हो, शारीरिक या सामाजिक आवश्यकता हो, त्यो व्यक्ति प्रेमी पनि हो तर सोलमेट भने अवश्य हैन, नत्र अर्को विवाह गर्ने गरिन्न, अर्कोबाट सोलमेटको आशा रहन्न । मानिसको सुषुप्त मस्तिष्कमा सोलमेटको खोज सदैव जीवित रहन्छ र यो खोज सोलमेट नभेटिएसम्म आजीवन रही रहन्छ, यसैले मानिस सदैव सोलमेटको खोजीमा हुन्छ भन्नू गलत हैन । एडविलले सोलमेटको रूपमा सवितालाई पाए, प्रेम गरे, त्यसैले एडविलको प्रेमलाई गलत भन्ने बुझाई नै गलत हो । कतिपय मानिसहरू आफ्नो जीवन साथीलाई नै सोलमेट ठान्ने गर्दछन् र यसैमा रमाएर बस्छन्, चित्त बुझाउँछन् । यो केवल जीवनसँग या जीवन साथीसँग गरिएको सम्झौता मात्र हो । तर यसको विपरीत अलिकति संवेदना चनाखो भएको मान्छे भने यसमा सन्तुष्ट हुन सक्दैन, सम्झौता गर्न सक्दैन, उसको संवेदनाले खोजेको सोलमेट जब आफ्नो जीवन साथीमा पाउँदैन तब ऊ भित्र असन्तुष्टिको जन्म हुन्छ, त्यो उब्जिएको असन्तुष्टिसँग या अवस्थासँग कसैले सम्झौता गर्छन्, कोही गर्न सक्दैनन् र सम्बन्ध बिग्रन्छ ।

हाम्रो संस्कार, हाम्रो अवस्था, हाम्रो सामाजिक परिवेश र हाम्रो सोचले सामान्यतः एडविलको प्रेमलाई गलत देख्छ र यो स्वाभाविक हो । नकुलले सवितालाई प्रेम गरे, तर सविता नकुलको सोलमेट थिइन् या थिइनन् गौण विषय हो । नकुल र सविताले यो नबुझी आकर्षण र चाहनामा केवल एक अर्कालाई पाउन चाहे । विवाह बन्धनमा बाँधिएका एडविलले सवितालाई सोलमेट देखे, केवल प्रेम गरे । सामाजिक परिवेशलाई तोड्न उनी अक्षम थिए, तथापि उनले सवितालाई प्रेम गरे । एडविलको सोलमेटको खोजी सवितामा गएर टुङ्गिएको थियो, उनले सविताबाट यथास्थितिमा प्रेम चाहे, अनेक तरिका अपनाए, तिगडम गरे तर सकेनन् । आफ्नो प्रेमलाई मर्न नदिन एडविलले सवितालाई स्वतन्त्र गरिदिए तर भित्र भित्रै पिल्सिएर सोलमेटलाई आजीवन प्रेम गरिरहे । यो त्यही सोलमेट प्रेम हो जुन अमृता प्रितमले शाहिर लुधियानवीलाई गरिन्, रेखा अमिताभलाई गर्दै छिन् । अमृता प्रितम विवाहित भएर पनि शाहिरलाई सोलमेट मान्थिन्, उसले पिएको ठुटो चुरोट ओंठमा च्यापेर चुम्बन गरेको अनुभूति लिन्थिन्, शाहिर बसेर गएको कोठामा शाहिरको शरीरको गन्ध सुँघ्ने चेष्टा गर्थिन् । रेखा अमिताभलाई सोलमेट मान्छिन्, थुप्रै कार्यक्रममा उनले घुमाउरो रूपमा यसलाई स्वीकारेकी छिन् । यसैले कसैले गर्ने यस्तो प्रेमलाई कुनै पनि कारणले नाजायज या गलत ठान्नु चैँ सरासर गलत हो, प्रेम भनेकै ईश्वर समान पवित्र भावना हो, यसको अपमान ईश्वरको अपमान हो, हामी त्यस्ता प्रेमीको भाव बुझ्न सक्छौ तर भावना केवल उसैले मात्र  बुझ्ने हुनाले उसको भावनाको अपमान कसैले कदापि गर्न हुन्न ।

वास्तवमा प्रेम सदैव आत्मिक भएर नै प्रस्फुटित हुन्छ । हरेक प्रेमी प्रेममा सदैव उच्च आदर्श स्थापित गर्ने अनेकौँ प्रयत्न गर्छन्, आफूलाई आदर्शवाद देखाउने चेष्टा गर्छन् । तर चेष्टाको मूल कारण आशक्ति नभएर प्राप्तिको आकाक्षा भएकोले प्रेमीलाई प्रभावित पार्न गरिने हरेक चेष्टा वास्तवमा ढोँग हो, सच्चा आदर्श नभएर मुखौटा हो । मुखौटाभित्रको आँखामा वासनाको लाली चढ्न थालेपछि प्रेम आत्मिक रहँदैन, शारीरिक हुन पुग्छ । यहीँबाट आत्मिक प्रेमको अवसान र शारीरिक प्रेमको सुरुवात हुन्छ । मान्छे आत्मिक र शारीरिक प्रेम छनौट बीचको द्वन्द्वमा सदैव शारीरिक प्रेमलाई नै रोज्न पुग्छ, प्राप्तिलाई नै विजय ठान्छ र शारीरिक प्रेमलिप्त हुन पुग्छ । त्यसैले त अप्राप्तिमा बहुलाउँछ । एडविलले सवितालाई यही आत्मिक प्रेम गरे । समले नकुल र सविताको वियोगात्मक अन्त्य देखाएर नाटकलाई टुङ्गाए, एडविलको प्रेम र त्यसबाट श्रृजित एडविलको मानसिक अवस्थाको बारेमा मौन रहनुले एडविल प्रति अन्याय भएको देखिन्छ । नाटकको विस्तार नकुल सविताको मृत्युतिर नभएर यतातिर पो हुनु पर्थ्यो कि !    

सम्बन्धित समाचार