• २०८१ बैशाख ६ बिहीबार

वैशाख २ गतेदेखि काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’

kharibot

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी वैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’ हुने भएको छ । 

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले आज पत्रकारसम्मेलन गरी जानकारी दिएको छ ।

प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

  प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।

प्रदर्शनी भने एक महिनासम्म चल्ने छ ।

प्रतिष्ठानले यसपटक अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मानबाट कलाकार काठमाडौँका कृष्ण मानन्धर र भक्तपुरका सूर्यबहादुर चित्रकारलाई सम्मानित गरिने भएको छ ।

उक्त सम्मानको राशि रु एक एक लाखको रहेको छ ।  

ललितलका लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ मा राखिएका कलाकृतिमध्ये विभिन्न विधाबाट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विशेष पुरस्कार एवं प्रादेशिक पुरस्कार ३१ कलाकारलाई प्रदान गरिने जनाइएको छ ।

ती पुरस्कारको राशि क्रमशः  ६० हजार र रु २५/२५ हजारको रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै