• २०८१ बैशाख ६ बिहीबार

कविताको हत्या साथीबाटै, दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

kharibot

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बेलका नगरपालिका-३ स्थित कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत सुनुवारको एउटै कक्षामा पढ्ने मिलनसार साथीको योजनामा बेलका नगरपालिका-३ डंगटोलस्थित बाँस घारीमा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बाँसघारीमा विनोदले लुकाएर ल्याएको बियरको बोतलले कवितालाई पछाडिबाट हिर्काएर ढालेको बयान दिएका छन् । ढलिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घिसार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुंगाले हिर्काएर मरेपछि लुकाएको प्रहरीले जनाएको छ ।

सरिताले दुई हप्ताअघि नै कवितालाई मार्ने योजना बनाएको प्रहरी समक्ष दिएकी छन् । हत्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा हत्या गरिएको थियो ।

सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । कविताले स्कुलमा आफूलाई होच्याउने गरेकाले मार्ने योजना बनाएको सरिताले बताएकी छन् ।

हत्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए । उनीहरूले हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग राखेका थिए । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । मृतक किशोरीको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

घटना स्थलदेखि विद्यालय करिब सात सय मिटर र घर करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै