• २०८१ बैशाख ११ मंगलबार

एनआरटीले जित्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

kharibot

बारा । नव जनजागृति युवा, सिमराद्वारा आयाेजित जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले हात पारेको छ । बाराको सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधी हाँत पारेको हो ।

एनआरटीलाई उपाधी दिलाउँने क्रममा मेसुके ओलोमइ र स्टेफन समिरले समान २-२ गोल गरे, भने दिपेश घलेले एक गोल गरेका थिए । एनआरटीका लागि यो उपाधी सिजन कै पहिलो हो । यो उपाधी उचालेसँगै एनआरटीले जीतपुरसिमरा गोल्डकप बिजेताको सूचिमा आँफूलाई पनि उभ्याउन सफल भयो ।

पहिलो हाफको ईन्जुरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित हात पार्दै उपाधि हाँत पारेको हो । पहिलो हाफमा थपिएको दुई मिनेंट ईन्जुरी समयमा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । दीपेश धिमालले बिशाल घलानलाई लडाए पछि पाएको फ्रि-किकमा मेसुकेले गोल गरेका थिए । 

डि-बक्स बाहिरबाट मेसुकेले गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न एपीएफका गोल रक्षक राजु नगरकोटी असफल देखिए । एक गोलको अग्रतासँगै दोस्रो हाफ सुरु गरेको एनआरटीले खेलको ६० औं मिनेंटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दिपेश घलेले टिमका लागि दोस्रो गोल गरेका थिए । 

दोस्रो पटक फाईनलमा पुगेर उपविजेतामा सिमित हुन पुगेको एपीएफले सुरुवात देखि आक्रामक खेल खेले पनि फिनिसिङ्गमा चुकेको थियो । 

एपीएफ फिनिसिङ्गमा चुक्दा एनआरटी खेलमा हावी हुँदै गएको हो । खेलमा दुई गोलले अग्रता लिएको एनआरटीले ७७ औं मिनेंटमा तेस्रो गोल गरेको थियो । एनआरटीका स्टेफन समिरले गोल गर्दै खेल ३/० को स्थितमा पुर्याएका थिए । 

करिब १० हजार दर्शकको उपस्थिती रहेको रंगशालामा ए डिभिजनका दुई टिम बिचको खेल प्रतिस्पर्धात्मक हुँने अपेक्षा गरिएको थियो । तर, एनआरटीले लगातार गोल गर्दै नतिजा आफ्नों पक्षमा पारेको थियो । खेलको ८१ औं मिनेंटमा एनआरटीले चौथो गोल थप्दा एपीएफका समर्थक निराश बन्न पुगे । मेसुकेले टिमका चौथो र प्रतियोगितामा व्यक्तिगत पाँचौं गोल गरे । 

एक पछि अर्को अवसरलाई स्कोरमा परिणत गर्न सफल एनआरटीले खेलको ८९ औं मिनेंटमा पाँचौं गोल थप्यो । स्टेफन समिरले एनआरटीका लागि पाँचौं गोल गरेका थिए । समिरको गोलसँगै एपीएफ अन्तिम भिडन्तमा लज्जास्पद हार व्यहोर्न बाध्य भयो । 

प्रतियोगिताको बिजेता एनआरटीले १० लाख र ट्रफि प्राप्त गर्यो भने उपविजेता बनेको एपीएफले पाँच लाख हात पारेको छ । 

विजेताले तथा उपविजेता टिमका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए । उनले एक थान बेनेली मोटरसाईकल प्राप्त गरेका छन् । प्रतियोगिताको विद्यागत पुरस्कार तर्फ पनि एनआरटी हावी भयो ।   

प्रतियोगिताको उत्कृष्ट गोलर क्षक एनआरटीका प्रदिप भण्डारी, उत्कृष्ट मिड फिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्सको उपाधी एपीएफका राजन गुरुङ्गले प्राप्त गरे, भने प्रतियोगिता अवधी भर ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोल कर्ताको पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौंलागाई घोषित भए । प्रतियोगिताको फेयर प्लेको उपाधी बिजय युथ क्लब हेटौंडाले प्राप्त गरेको छ । चैत्र १० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै