• २०८१ मङ्सिर ९ आइतबार

गठबन्धन बचाउने अन्तिम प्रयासमा प्रचण्ड-नेपालको दौडधुप !

kharibot

फाइल तस्बीर

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तितर बितर हुन लागेको गठबन्धनलाई जोगाउन भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु सक्रिय भएका छन् ।

विहिबार नेपाली काँग्रेस र नेकपा एमालेसँगको छलफल सकारात्मक भएको संकेत पाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सक्रियता बढाएका छन् ।

आजै माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि अहिले पार्टी भित्र छलफलमा जुटेका छन् ।

काँग्रेस-एमालेको नयाँ गठबन्धन बनेमा त्यसको ठुलो असर एकीकृत समाजवादीले हुने बुझेर नेपालले एमसीसीलाई अनुमोदन गर्ने वातावारण पार्टी भित्र बनाउन प्रयासरत रहेको बुझिएको छ । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु एमसीसीको पक्षमा नै रहेका छन् । अध्यक्ष नेपालले पनि खुलेर एमसीसीको विरोध गरेका छैनन् । उनले गठबन्धन तोड्ने शर्तमा एमसीसीको विरोध नगर्ने रणनीति शुरुदेखिनै अख्तियार गरेको बुझिन्छ । तर एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल एमसीसीको विपक्षमा खुलेर लागेकाले अहिले नेपाल समेत अप्ठ्यारोमा परेको बताइएको छ ।

त्यस्तै माओवादी केन्द्रमा पनि अधिकांश नेताहरु एमसीसीको विपक्षमा भएकाले प्रचण्ड एमसीसीको विपक्षमा उभिएको बताइएको छ । तर अहिले प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित गर्ने र त्यसका लागि गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने सम्मको निर्णय लिने अवस्थामा पुगेपछि प्रचण्डले पनि 'यू-टर्न' को तयारी गरेको बताइएको छ । माओवादी केन्द्रको प्रचण्ड निवासमा शुक्रबार बसेको बरिष्ठ नेताहरुको बैठकले गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको पनि यहि कारणले भएको बुझिएको छ । 

अब माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान नगरेपनि विपक्षमा पनि मतदान नगर्ने नयाँ फर्मुला लिएर प्रधानमन्त्री देउवासँग छलफल अगाडी बढाएको छ । एमालेले संसदमा विरोध जारी राखेमा माओवादी र एकीकृत समाजवादीले संसद बैठक बहिष्कार गरेर एमसीसी सहज अनुमोदन हुने वातावरण बनाउने बाटो रोज्ने गरि छलफल अगाडी बढाएका छन् । तर प्रधानमन्त्री देउवाले भने सरकारमा रहेपछि एमसीसीको पक्षमा मतदान नै गर्नुपर्ने अडान लिएको बुझिएको छ । गठबन्धन कायम राख्न सबै दलले पक्षमा मतदान गर्नुपर्ने उनको अडान रहेको बताइएको छ । एमालेले अन्तिम समयमा एमसीसी अनुमोदनमा सघाउने संकेत पाएका देउवाले प्रचण्ड र नेपालमाथि थप दबाब बनाएको र यसका लागि केहि समय दिन शुक्रबारको संसद बैठक आइतबारका लागि सारिएको छ । प्रचण्ड र नेपालले अहिले आफ्ना कार्यकर्ता एमसीसीको विरोधमा सडकमा उतारेकाले पनि आन्दोलनको सेफ ल्याण्डिङको उपाय खोजिरहेको बताइएको छ ।

तर प्रचण्ड नयाँ उपायमा एक्सरसाइज गरिरहेका बेला माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने यसको खण्डन गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जाल मार्फत पार्टी एमसीसीको विपक्षमा रहेको प्रष्ट पार्दै माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । उनले भनेका छन्- 'हाम्रो पार्टीले महाधिबेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसिसि सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ , एमसिसि सम्झौता यसका राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकुलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्विकार र पारित नगर्ने । हामी त्यसैमा कायम छौं ।'

अहिलेसम्मका घटनाक्रमलाई हेर्दा गठबन्धन रहने या नरहने विषय माओवादी-एकीकृत समाजवादीको निर्णयमा धेरै भर पर्ने भएको छ र यसको निर्णय हुन अझै केहि समय लाग्ने देखिन्छ भने काँग्रेस-एमाले छलफल सकारात्मक भनिए पनि प्रधानमन्त्री देउवाले आफ्नो अन्तिम अस्त्रको रुपमा मात्र यो कदम चाल्ने बुझ्न सकिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै