• २०८१ बैशाख ७ शुक्रबार

१४ खर्बको लगानी प्रतिबद्धतामै सीमित : एक वर्ष हुनलाग्यो रकम खोइ ?

kharibot

काठमाडौं । आगामी फागुन १९ गते नेपाल लगानी सम्मेलन भएको एक वर्ष पुग्दै छ । नेपाल लगानी गर्नका लागि एक उपयुक्त गन्तव्य मुलुक हो भन्ने सन्देश दिनका लागि नेपाल सरकारले विदेशी लगानीकर्तालाई बोलाएर सम्मेलन गरेको थियो । 

त्यस समयमा एक किसिमको लगानीमैत्री वातावरण निर्माण भएको सन्देश मुलुकभर नै सञ्चार भएको थियो । तर, त्यो कालान्तरमा देखाउने दाँत मात्रै साबित भएको छ । एक वर्षको अवधिसम्ममा सम्मेलनमा प्रतिबद्धता व्यक्त गरेका कुनै पनि कम्पनीबाट कुनै रकम नेपाल आउनसकेको छैन भने ती कम्पनीहरुले चासो मात्रै देखाएका छन् ।

नेपाल सरकारले एक खर्बको प्रतिबद्धता आउने प्रक्षेपणसहित सम्मेलन आयोजना गरेको थियो । तर सरकारको अपेक्षालाई गलत साबित गर्दै सम्मेलनमा सहभागी भएका कम्पनी तथा लगानीकर्ताहरुले करिब १४ खर्बको प्रतिबद्धता व्यक्त गरे । तर सोहीअनुसार सम्मेलनमा प्रतिबद्धता जनाएका कुनै पनि कम्पनी लगानी गर्नका लागि नेपाल आएका छैनन् । लगानी बोर्ड नेपालका प्रवक्ता उत्तमभक्त वाग्लेले सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार लगानीकर्ताहरु आकर्षित हुन नसकेको बताए । 

उनले भने, ‘सम्मेलनमा प्रतिबद्धता जनाएका लगानीकर्ताहरुले सेक्टरवाइज लगानी गर्न आएका छैनन्, तर केही लगानीकर्ताहरुले भने चासो दिइरहेका छन्, तथ्यांकमा लगानी यति लगानी आयो भन्ने अवस्था छैन ।’ उद्योग मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाका उपसचिव विमलप्रसाद बरालले प्रतिबद्धताअनुसारको लगानी भित्र्याउनका लागि पहल भइरहेको जानकारी दिए । 

उनले भने, ‘लगानी सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयनका लागि विभिन्न समितिले काम गरिरहेका छन् । कति लगानी आयो भन्ने एकिन तथ्यांक भने तत्काल भन्न सक्ने अवस्था छैन ।’ लगानी सम्मेलनको प्रतिबद्धता कार्यान्वयनका लागि सरकारले सोही समयमै तीनवटा समिति गठन गरेको थियो ।

उद्योगमन्त्रीको अध्यक्षमा, राष्ट्रिय योजना आयोगको उद्योग क्षेत्र हेर्ने प्रमुख र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा समिति गठन गरिएका थिए । यस्तै त्यसबेला लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुले पूर्वाधार, जलविद्युत्, कृषि, पर्यटन, उत्पादमूलक उद्योगका साथै सडक निर्माण, रियल स्टेटलगायतमा लगानी गर्ने गरी १६ कम्पनीले १४ खर्बको प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालमा राजनीतिक अस्थिरता हटेर लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश दिएर विदेशी लगानी नेपालमा भित्र्याई आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यले दुई दिनसम्म लगानी सम्मेलन काठमाडौंमा आयोजना गरिएको थियो । सम्मेलनमा २० भन्दा बढी देशका दुई सय ८५ लगानीकर्ताको सहभागिता थियो ।

हालसम्म जम्मा तीनचोटि बैठक बस्यो

लगानी सम्मेलनमा आएको प्रतिबद्धता कार्यान्वयनका लागि सहजीकरण तथा पहलका लागि ती समिति गठन गरिएका थिए । तर मन्त्रालयका अनुसार भने हालसम्म तीनवटा मात्रै बैठक बसेका छन् ।

सरकारले लगानी सम्मेलनमा आएको प्रतिबद्धतालाई वास्तविक लगानीमा परिणत गर्नका लागि पहल नगरेको स्पष्ट हुन्छ । साथै विदेशी लगानीकर्ताले पनि त्यति धेरै चासो नदिएको पुष्टि भएको छ । यसमा सरकारको उदासीनता पनि उत्तिकै देखिएको छ । पहल गर्ने र ‘फलो अप’ गर्ने मात्रै काम गरिरहेको देखिए पनि त्यो परिणाममा आउनसकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै