• २०८१ बैशाख ७ शुक्रबार

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

kharibot

नवलपरासी । भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ । 

पर्यटन प्रवद्र्धनको क्षेत्रमा चीनले गर्न लागेको लगानी नेपालका सबै स्थानीय तहमध्ये यहाँ सबैभन्दा बढी रहेको रामग्राम नगरपालिकाले जनाएको छ । भगवान् गौतमबुद्धको सातवटा स्थानमा अष्टधातु रहेकामध्ये रामग्राम स्तूप मात्र सिंगो अष्टधातु रहेको स्थल मानिन्छ । 

चीनले ठूलो आर्थिक लगानी गरेर निर्माणको काम अघि बढाएपछि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । रामग्राम स्तूप आसपासमा चिनियाँ सरकारबाट आर्थिक लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भइसकेको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । 

“सम्पूर्ण लगानी चीन सरकारले गर्नेछ, भौतिक संरचना निमार्णका लागि रामग्राम नगरपालिकाले रामग्राम स्तूप आसपासका क्षेत्रमा जग्गा उपलब्ध गराउने छ । नगरपालिकाले पर्यटन गुरुयोजना तयार गर्ने काम शुरु गरिसकेको छ,” उहाँले भन्नुभयो ।

चीनको सरकारी स्वामित्वमा रहेको चीन–नेपाल सांस्कृतिक केन्द्र र रामग्राम नगपालिकाबीच दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षरसँगै काम शुरु गरिएको गुप्ताले बताउनुभयो । 

चीनको बेइजिङस्थित बाउची शहरको समन्वयमा तथा रामग्राम नगरपालिकाको सहकार्यमा रामग्राम स्तूपको सेरोफेरोमा पर्यटकीयस्थल निर्माणका लागि सहमति भएको हो । रामग्राम स्तूपको मुख्यबाहेक अन्य क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण अघि बढाइएको नगरपालिकाकी उपप्रमुख रम्भा कँुवरले बताउनुभयो ।

सो क्षेत्रमा पर्यटकीय संरचना तयार भएपछि आगामी सम्झौताअनुसार सो पर्यटकीय क्षेत्रको आम्दानीलाई रामग्राम नगरपालिका र चीन– नेपाल सांस्कृतिक केन्द्रको संस्थागत पर्यटकीय क्षेत्रको विकासमा लगानी गरिनेछ । 

स्तूपको मुख्यवाहेक अन्य आसपासका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न पार्क, भ्यू टावर, वाटर फाउण्डेसन तथा मल्टिप्रयोगका संरचना निर्माण गर्ने योजना रहेको नगरपालिकाका इञ्जिनियर शतिसकुमार गुप्ताले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा एक साताअघि चीन पुगेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता नेतृत्वको टोलीसँग बाउची शहरका प्रमुख मिस्टर माँ र अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङ कोनले पर्यटकीयस्थल निर्माणका विषयमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । 

“चिनियाँ सरकारले नेपालमा पर्यटकीय क्षेत्रमा यस्तो ठूलो लगानी गर्नु सकारात्मक कुरा हो,” यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताउनुभयो । चीन सरकारले नेपालको पर्यटन प्रवद्र्धनमा आगामी दिनमा थप लगानी गर्ने उहाँले विश्वास व्यक्तगर्नुभयो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै