• २०८१ बैशाख १३ बिहीबार

कञ्चनपुरमा ‘जिरो टिलेज’ प्रविधिबाट खेती

kharibot

कञ्चनपुर । खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् । 

थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७ र ८ का किसानले १० बिघाभन्दा बढी जग्गामा जिरो टिलेज प्रविधि अपनाएर गहुँखेती गरेका छन् । 

धान काटेको खेतमै खनजोत नगरिकनै सिड ड्रिल मेसिनको सहायताले एकै लाइनमा गहुँको बीउ र मल राखेर खेती गर्दा बढी प्रतिफल हासिल हुने भएकाले किसान सो प्रविधितर्फ आकर्षित भएका हुन् ।

गत वर्ष नमूनाका रुपमा बेलौरी– ६ रिछाहाका खड्क चौधरीले सो प्रविधिबाट गहुँखेती गरेका थिए । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन तेब्बर भएपछि अन्य किसानले समेत कृषि शाखाको सल्लाहमा जिरो टिलेज प्रविधिबाट गहुँखेती गरेका छन् । 

दुई वर्षअघिदेखि जिरो टिलेज प्रविधिबाट गहुँखेती गर्दै आएका चौधरीले धान काटिसकेपछि खेतमा चिस्यान बढी हुने भएकाले त्यसैबेला सिड ड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नु पर्ने बताए । ‘उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाज राम्रो आउँछ,’ उनले भने । 

परम्परागत छरुवा प्रविधिमा आधारित भई खेती गर्दा खेतलाई पाँच पटकसम्म जोताई गर्दा प्रतिबिघा रु १० हजार बढी खर्च लाग्ने कृषि प्राविधिक हरिश सेटी बताए । जिरो टिलेज प्रविधिबाट खेती गरे एकपटक गहुँ छर्दामात्रै प्रतिबिघा रु दुई हजार ५०० मात्रै खर्च लाग्छ । सिँचाइ गर्दा पानी थोरै लाग्छ । छरुवा प्रविधिमा गरिएको खेती बढी पानी भए बोट पहेलो भई मर्ने र कम उत्पादन दिने समस्या यस प्रविधिमा छैन । 

छरुवा प्रविधिबाट खेती गर्दा प्रतिबिघा २० क्विन्टलभन्दा बढी गहुँ फल्दैन तर जिरो टिलेज प्रविधिबाट खेती गरिए प्रतिबिघा ६० क्विन्टलसम्म गहुँ उत्पादन लिन सकिने सेटी बताउन्छन् । 

हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताए । झारपात र रोग कीराको प्रकोपसमेत बढी नहुने भएकाले सो प्रविधि किसानमाझ लोकप्रिय हुँदै गएको उनको भनाइ छ ।

अत्याधुनिक कृषि यन्त्रको सहायताले गरिने यस खेती प्रणालीलाई नगरपालिकाका अन्य वडामा समेत विस्तार गर्नका लागि आगामी वर्षका लागि कृषि शाखाले योजना बनाएको छ । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँखेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै