• २०८१ बैशाख ८ शनिबार

हिन्दू र मुसलमान दुवै समुदायको आस्था रहेको मदार बाबा मेला शुरु

kharibot

फाइल फोटो ।

नवलपरासी । हिन्दू र मुसलमान समुदायको संयुक्त धार्मिक आस्थाको केन्द्र मदारबाबा मेला शुरु भएको छ ।

मराजको मुख्य समाधिस्थल पूजास्थल मा मुख्य पीठाधीश अमिरुल्ला अन्सारी सोमबार नै पुगेपछि मेला शुरु भएको हो । मदारबाबाको मेला लाग्ने स्थल नवलपरासी बर्दघाट सुस्ता पश्चिम, सुस्ता गाउँपालिका – २ महलबारीबाट ९ किमी पहाडी क्षेत्रमा पर्छ । 

मदारबाबाको मराजमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ । महलबारी गाउँबाट निकै कठिनाइपूर्वक ९ किमी पहाडीयात्रा गरेर बाबाको समाधिस्थल जानुपर्छ । मेलामा नेपालका साथै भारतका दिल्ली, मुम्बई, बिहार, बंगाललगायत विभिन्न स्थानबाट१० लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । 

मेला ३५÷३६ वर्षयता निरन्तर लाग्दै आएको छ । यस वर्षको मेला आगामी फागुन १ गतेसम्म चल्ने छ । मेलामा आउने भक्तजनको सुविधा र व्यवस्थापनका लागि स्थानीय कुतबुल मदारशाह दरगाह समितिले काम गरेको समितिका सचिव अजमुद्दिन मियांले बताए ।

मेला मुसलमान मान्यतानुसार महान्ऋषि बदिउद्दिन शाहको ६०१औं वार्षिकीका रूपमा मनाइँदै छ । विकट पहाडमा पूजापाठ गर्न आउने भक्तजनले भाकल गरेको पुग्ने विश्वास छ । सन्तान नहुने दम्पतीले सन्तान पाउने, दीर्घरोगी निको हुनेलगायत मान्यता र विश्वास भएकै कारण मेलामा आउने भक्तजनको संख्या दिनानुदिन बढ्दै गएको पीठाधीश बाबा अमिरुल्लाह अन्सारीको भनाइ छ । 

श्रद्धाको यस केन्द्रमा चार महत्वपूर्णस्थान छन् । महलबारीमा मस्जिद तथा गुद्दरबाबा, चावलधोइ र उच्च पहाडमा मदारबाबास्थान छन् ।। यसै स्थानमा पुग्न सक्नुलाई सुखको मुहान खुल्नुसरह मानिन्छ । मुख्य केन्द्रका रूपमा रहेको यस स्थानमा बाबा आसीन हुने र त्यहाँ पुग्ने भक्तजन बाबाको आशिष लिई फर्कन्छन् । 

ऐतिहासिक मेलामा हिन्दू र मुसलमान दुवै धर्मका व्यक्ति श्रद्धाका साथ जाने गर्छन् । हिन्दू मुसलमान दुवै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ आउने समितिका कोषाध्यक्ष रियाजुलहक अन्सारीले बताए । 

मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायत आवश्यक सबै तयारी मिलाइएको समितिका अध्यक्ष निजामुद्दिन मियाँको भनाइ छ । 

आजभन्दा ६०१ वर्ष पहिले यहाँ मुसलमान समुदायका धर्मगुरुले यस क्षेत्रमा समाधिस्थल बनाई पूजाआजा गरेकामा बाबा मरेपछि पछिल्लो ३०÷३५ वर्ष अघिदेखि प्रत्येक वर्ष बाबाको सम्झनामा मेला लागेको मेलाका वर्तमान पीठाधीश अन्सारीले बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै