• २०८१ बैशाख ७ शुक्रबार

नेविसंघका नेताको निधनपछि पोखरामा तनाव, एक दर्जनभन्दा बढी विद्यार्थी पक्राउ  

kharibot

पोखरा ।  नेविसंघका पृथ्वीनारायण क्याम्पस नेता बोधराज ढकालको दुर्घटनामा परी मृत्यु भएपछि पोखरामा तनाव भएको छ ।

सोमबार साँझ पिएन क्याम्पस गेट अगाडि ग १ ख ६६७७ नम्बरको नगर बसले ठक्कर दिँदा पैदल हिँडिरहेका ढकालको ज्यान गएको हो । ढकाल नेविसंघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति हुन् ।

नेविसंघले मंगलबार बिहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि नगरक्षेत्रमा कुनै पनि नगर बस चलेको छैन । नेविसंघका कार्यकर्ता तथा अन्य विद्यार्थीहरूले बिहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन्। विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

दोषीलाई कडा कारवाहीको माग गर्दै नेविसंघआवद्ध विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् । 

नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलन गरिरहदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउदै घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् । नेता जोशीले पक्राउ परेका नेतालाई यथाशिघ्र रिहाइको माग गरेका छन् । 

घटनाको छानबिन र तत्कालै क्षतिपूर्तीको व्यवस्थापन नभएसम्म माइक्रो बस चल्न नदिने विद्यार्थीहरुले बताएका छन् ।

समस्या समाधानका लागि अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक भैरहेको छ । घटनाबारे छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्ने २४ वर्षीय ढकाल पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत  थिए । ढकाल कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएको बताइएको छ ।

बसको ठक्करबाट घाइते ढकाललाई तत्काल गण्डकी मेडिकल कलेजमा पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि मणिपाल अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारको क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै