• २०८१ बैशाख १४ शुक्रबार

वायु प्रदूषणविरुद्ध मास्कमाडौँ–३ हुँदै

kharibot

ललितपुर ।  राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब सिर्जना मास्कमाडौँ–३ को अभियान शुरु गर्न लागिएको छ । 

बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित शहरीकरणसँगै केही वर्षयता राजधानी काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै सो अभियान शुरु गरिएको बताइएको छ । 

स्वच्छ ऊर्जा नेपालको आयोजनामा शुरु गरिएको यो अभियान तेस्रो हो । सन् २०१६ र शुरुमा मास्कमाडौँ पहिलो र दोस्रो सम्पन्न भएको थियो । मास्क नलगाई राजधानीमा हिँड्न नसकिने अवस्थाको अन्त्य गर्न यस्ता अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ । 

विभिन्न अध्ययनले काठमाडौँको वायु प्रदूषण विश्वमै अत्यन्त उच्च रहेको देखाएको र यसले काठमाडौँको पहिचान अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक पर्न गएको सन्दर्भमा त्यसलाई हटाउन सो अभियानलाई निरन्तरता दिइएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताए । “हिजो मन्दिरैमन्दिरको शहरका रुपमा चिनिने काठमाडौँ आज प्रदूषित शहरका रुपमा बदनाम हुँदा पर्यटनमा समेत नकारात्मक असर पर्न गएको छ”, थापाले भने । 

हालै सार्वजनिक इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८मा १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वायु प्रदूषणको हिसाबले नेपालको स्तर ३१.४४ रहेको छ । 

सो अभियानअन्तर्गत यही माघ २५ गतेदेखि साताव्यापी रुपमा प्रदूषण बढी भएका राजधानीका चोकहरुमा प्रदूषणको समस्याका बारेमा अवगत गराउनेखालका कार्यक्रमहरु सञ्चालन गरिनेछन् । 

विश्व प्रेम दिवसका अवसरमा रत्नपार्कमा युवा, विद्यार्थीको सहभागितामा साझा संकल्प गरिने छ । ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने सो नाराका साथ उनीहरुलाई लक्षित गरी साझा संकल्प गराउन लागिएको प्रबन्धक थापाले बताए । 

नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गराउन सरोकारवालादेखि सर्वसाधारणलाई समेत सचेत र जागरुक गराउन यस्ता अभियान आवश्यक भएको उनको कथन छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै