• २०८१ बैशाख ७ शुक्रबार

प्रदेशसभा बैठक ‘सङ्घीयताको स्वर्णीम अध्याय’

kharibot

जनकपुरधाम । प्रदेश नंं २ का प्रदेशसभा सदस्यले प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको सहभागितालाई ‘सङ्घीयताको स्वर्णीम अध्याय’को संज्ञा दिएका छन् । 

मधेसीप्रतिको विभेदको अन्त्यका लागि विसं २००९ देखि आन्दोलन गर्दै आएकामा गणतन्त्र स्थापना र अधिकार प्राप्तिको यात्रामा शहादत प्राप्त गर्नेको सपना साकार गर्ने सन्दर्भमा प्रदेशसभाको पहिलो बैठक ऐतिहासिक र स्वर्णीम भएको उनीहरूको भनाइ छ । 

जनकपुरधाम प्राचीन मिथिलाको राजधानी, प्रथम गणतान्त्रिक शहीद जनकपुरधामकै भएको, अधिकार प्राप्तिको आन्दोलनमा सधैँ अग्रणी रहेको स्थलमा प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले भने, ‘नयाँ अनुभूति भइरहेको छ ।’ 

मिथिला पहिरनमा रहेका प्रदेशसभा सदस्यले अब यो भूमिको अस्तित्वको रक्षा र प्रदेशमा विद्यमान गरिबी, अशिक्षा र बेरोजगारी न्यूनीकरण, उद्योग कलकारखानाको सञ्चालन र अधिकार प्राप्तिका लागि ऐक्यबद्ध हुने साझा फूलबारीका रूपमा प्रदेशसभालाई लिनु पर्ने विचार प्रदेशसभा सदस्य रामनरेश रायको रहेको छ । 

विगतमा सम्पूर्ण अधिकार सिंहदरबारमा केन्द्रित रहेको अब आफ्नो क्षेत्रको विकास र समृद्धितर्फ उन्मुख गराउने सन्देश आजको बैठकले दिएको अनुभव प्रदेशसभा सदस्य परमेश्वर साहले सुनाए । 

ज्ञान, विज्ञान, संस्कृति, भाषा, विचारविमर्शको प्राचीन स्थल जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठकमा सहभागी भई आफू गौरवान्वित भएको प्रदेशसभा सदस्य रामसरोज यादवको ठम्याइ छ । 

प्रदेशसभा सदस्य जीतेन्द्रप्रसाद सोनारले मैथिली भाषा, मैथिल संस्कृति, समृद्धको प्राचीनतालाई आजको बैठकले जीवन्त गराएको अनुभव राख्दै भने, ‘अधिकार, सुशासन, जनताको आकाङ्क्षाको मुद्दाको सम्बोधनको पक्षमा ऐक्यबद्धताको स्वर्णीम दिन हो ।’ 

प्रदेशसभा सदस्य रामअशिष यादवले भूमि उर्वर भए पनि शासक वर्गको बक्र दृष्ट्रि र विभेदको मनोविज्ञानको शिकारका कारण प्रदेश नं २ विपन्न भएकाले आजको दिनलाई त्यसबाट मुक्ति दिलाउने सङ्कल्पका रूपमा लिएको बताए । 

प्रदेशसभा सदस्य मञ्जु यादवले छोरीसँग विभेद गर्ने सामाजिक संरचनामा सुधार, सबैलाई न्याय दिलाउन सामूहिक अग्रसरताको दिनका रूपमा लिएको उल्लेख गर्दै भने, ‘पहिलो बैठक प्रदेशको सम्पदाको रक्षा, प्राकृतिक स्रोत साधनको सही सदुपयोगका लागि एकताको अवसर हो ।’ 

कान्छो प्रदेशसभा सदस्य अभिषेक यादवले पहिलो बैठक नौलो भएको बताउँदै मधेशको मुद्दाको सम्बोधनका लागि सबैको सामूहिक स्वरको दिनका रूपमा पहिलो बैठकमा अनुभूति भएका छ भने । 

हिमांशु चौधरीको रिपोर्ट/रासस

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै