• २०८१ बैशाख ८ शनिबार

बाढी पहिरोबाट अहिलेसम्म १२८ जनाले ज्यान गुमाए, ३३ जना अझै बेपत्ता

kharibot

धनुषामा शवलाई जलाउनको लागि दाउराको अभावका कारण हिन्दु संस्कार अनुसार जलाउने विधि मात्र पुर्याएर शवलाई गाड्दै परिवारजन, तस्विर : किरण कुमार कर्ण, धनुषा रासस

काठमाडौँ । अविरल बर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट हालसम्म १२८ जनाको मृत्यु भएको छ ।  गृहमन्त्रालयका अनुसार हालसम्म १२८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका र ३३ जना अझै बेपत्ता रहेका छन् । 

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतला लागि २५ हजार सुरक्षाकर्मी परिचालित भएका छन् ।  अहिलेसम्म करिब एक लाख ५ हजारको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।  त्यस्तै अहिलेसम्म एक लाख २० हजार केजी खाद्यान्न, औषधि र पानी लगायतका राहत सामाग्रीहरु हेलिकप्टरबाट वितरण गरिएको छ । 
बाढीका कारण अवरुद्ध भएका दाउन्ने, गावर, गन्दाली, सम्शेरगन्ज, अगैया, लोहोरे खोला पूल, रातु, जंघा, राप्ती पूल, कन्काई पूलहरु तत्काल मर्मत गरी सडक सुचारु गरेको मन्त्रालयले जनाएको छ । 

बाढीपहिरो पीडितलाई त्रिपाल वितरण गर्ने निर्णय

सरकारले बाढीपहिरो पीडितका लागि क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको छ । 

केन्द्रीय दैवीप्रकोप उद्धार समितिअन्तर्गतको आपूर्ति आश्रय तथा पुनस्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेको त्रिपाल वितरण गर्ने निर्णय गरेको हो । 

सहरी विकास मन्त्रालयमा सहरी विकासमन्त्री प्रभु साहको अध्यक्षतामा आज बसेको उपसमितिको बैठकले सुनसरीको इनरुवा शाखामा भएका ४४ हजार ८०० त्रिपाल तथा टेन्टमध्ये झापामा तीन हजार, मोरङमा १० हजार, सुनसरी र सप्तरीमा छ÷छ हजार, सिराहामा चार हजार, धनुषा र महोत्तरीमा पाँच÷पाँच हजार त्रिपाल पठाउने निर्णय उपसमितिले गरेको छ । 

हेटौडा क्षेत्रीय प्रशासन कार्यालय गोदाममा रहेका ४० हजार त्रिपाल र टेन्टमध्ये बारा र सर्लाहीमा पाँच÷पाँच हजार, रौतहटमा १५ हजार, पर्सामा चार हजार, मकवानपुरमा दुई हजार र चितवनमा तीन हजार त्रिपाल वितरण गरिने निर्णय भएको हो । 

काठमाडौँ मानवीय सहायता स्थलमा भएका सामग्रीमध्ये नवरपरासीमा चार हजार, रुपन्देही र कपिलवस्तुमा एक हजार, दाङमा चार हजार, बाँके र बर्दियामा पाँच÷पाँच हजारका दरले वितरण शुरु गरिने सहरी विकास मन्त्रालयले स्पष्ट पारेको छ । 

सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनगढी गोदाममा रहेका एक हजार १८५ त्रिपाल तथा टेन्ट आवश्यकताका आधारमा कैलालीलगायत क्षेत्रमा वितरण गरिने भएको हो । 
पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, इनरुवाबाट ३० हजार, मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाबाट ३४ हजार, काठमाडौँबाट २० हजार, धनगढीबाट एक हजार त्रिपाल वितरण गरिने भएको हो । 

मन्त्री साहले अस्थायी आवास निर्माणका लागि तत्कालै क्षेत्रीय प्रशासन कार्यालयको गोदाम घरमा रहेका सामग्री वितरण गरिने जानकारी दिए । आवश्यकता हेरी वितरण गरिने त्रिपालको संख्यामा थपघट गर्नुपर्ने भएमा जिल्ला दैवी प्रकोप उद्धार समितिबाट सिफारिस भएबमोजिम गर्नका लागि क्षेत्रीय प्रशासन कार्यालयलाई निर्देशन दिइएको साहले बताए । 

बैठकले बाढीबाट विस्थापित भई अस्थायी आवासको व्यवस्था गर्नुपर्ने घरधुरी तथा परिवारको यथार्थ विवरण शहरी विकास मन्त्रालयमा यथाशीघ्र पठाउन जिल्ला दैवीप्रकोप उद्धार समितिलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । 

बाढीग्रस्त जिल्लामा जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा आवश्यक परेका स्थानमा शहरी विकास तथा भवन निर्माण विभागबाट तयार भएको नमूना डिजाइनअनुसार अस्थायी आवास निर्माण गर्न विभागको डिभिजनअनुसार कार्यालयले प्राविधिक सहयोग पुर्याउन निर्देशन दिने पनि निर्णय भएको छ । 

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै