• २०८१ बैशाख ७ शुक्रबार

सिद्धान्त र विचारका आधारमा एकीकरण हुँदै

kharibot

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्र बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताएका छन् । 

नेपाल राष्ट्रिय वाणिज्य संघको आज यहाँ आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एकीकरण सुव्यवस्थित बनाउँदै लैजानका लागि विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताए ।

अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाइने तयारी भएको बताउदै उनले सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जाने जानकारी दिए । 

सो अवसरमा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले दक्ष जनशक्ति स्वदेशमा नै तयार गरी उनीहरूको उपयोग गरिनुपर्ने उल्लेख गरे । एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले प्राकृतिक, सांस्कृतिक रुपमा समृद्ध प्रदेश नं ४ मा विकासका पर्याप्त सम्भावना रहेको बताए । 

वाणिज्य संघका अध्यक्ष धनराज आचार्यले कर तिर्ने व्यवसायीको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायीले बाहिरबाट ल्याएको सामान बेच्ने मात्र नभै मुलुकभित्रै उत्पादन गरी बेच्न सक्ने गरी तयारी गर्नुपर्ने औँल्याए । 

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवम् राष्ट्रिय व्यवसायी महासंघका इञ्चार्ज मुकुन्द न्यौपाने, संघका कास्की अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले आर्थिक विकासमा योगदान गर्ने व्यवसायी राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वाणिज्य संघमा आबद्ध भई स्थानीय, प्रदेश एवम् संघमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । दुईदिने महाधिवेशनमा देशका ६८ जिल्लाका ४०० प्रतिनिधिको सहभागिता छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै