• २०८१ बैशाख ७ शुक्रबार

स्वराजको काठमाडौँ भ्रमण : ओलीको रात्रिभोजदेखि देउवाको दिवाभोजसम्म 

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपालमा चुनावपछि नयाँ सरकार गठन हुनै लाग्दा विशेष दूतका रुपमा आफ्नो क्याबिनेटका विदेशमन्त्री सुष्मा स्वराजलाई दुई दिने नेपाल भ्रमणमा पठाए । खास गरी नेपाली राजनीतिका कुनै न कुनै पाटोसँग भारतीय चासो सधैँ जोडिँदै आएकोमा त्यसले यसपटक पनि निरन्तरता पाएको हो । 

बिहीबार नेपाल आएकी उनलाई अर्थ राज्यमन्त्री उदयशमशेर राणाले त्रिभुवन विमानस्थल पुगेर ‘रिसिभ’ गरे पनि स्वराजलाई नेपाल सरकारले औपचारिक निमन्त्रणा भने गरेको थिएन । उनले नेपालका संवैधानिक निकायका प्रमुखहरुभन्दा पहिला भावी सरकार गठनसँग जोडिएका नेता र दललाई प्राथमिकता दिनुले नै उनको भ्रमण ‘मिसन भ्रमण’ थियो भन्न सकिन्छ । नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग शुक्रबार स्वदेश फर्किनुअघि मात्रै स्वराजले ‘शिष्टाचार भेट’ गरेकी थिइन् । 

यसपटक पनि नेपालमा गत मंसिरमा प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न भएसँगै नयाँ सरकार गठनको करिब करिब अन्तिम तयारी भइरहेको अवस्थामा भारतले गम्भीर चासो दिएको छ भन्ने प्रमाणस्वरुप भारतीय विदेशमन्त्रीको भ्रमण भएको हो । यद्यपि स्वराजले भने भारत अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेकाले त्यसको नेतृत्वका रुपमा हेरिएका ओलीसँग वाम गठबन्धनले पाएको विजयको लागि शुभकामना दिन मात्रै आएको र कुनै एजेण्डा लिएर नआएको बताएकी थिइन् । 

तर नेपाली राजनीतिक वृत्तमा भने उनी स्पष्ट सन्देश बोकेरै आएको बुझ्न सकिन्छ । उनी नेपाल सरकारको निमन्त्रणाविनै आएकी हुन् । एमाले अध्यक्ष ओलीले भने आफैँले बोलाएको भनी बालकोटमा माओवादी केन्द्रसँगका नेताहरुसँगको बैठकमा भनेका थिए । जे होस्, नयाँ सरकार गठन हुनै लाग्दा भएको भारतको विदेशमन्त्रीको भ्रमणमा गुह्य अर्थ भने अवश्य लुकेको छ । ओलीले आफूले बोलाएको भन्दा पनि भारतीय प्रधानमन्त्रीले मोदीले नै विशेष दूतका रुपमा पठाएको मान्नु बढी विश्वसनीय हुन्छ । किनकि नेपाल हाँक्ने नेताहरुलाई ‘मार्क’ गरेर नेपाली राजनीतिको ‘माइक्रोम्यानेज्ड’ गर्नु भारतीय परम्परा नै हो । लोकतन्त्रप्राप्तिपछिको एक दशकले यही सन्देश दिन्छ ।  

केपी ओलीसँग वान टु वान वार्ता : सहकार्य गर्न तयार छौँ 

बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग बिहीबार साँझ झण्डै एक घण्टा ‘वान टु वान’ भेटवार्ता गरेकी थिइन् । सो क्रममा ओलीलाई उनलेभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणमा आउने निम्तो दिँदै भावी सरकारसँग सहकार्यका लागि तयार रहेको बताइन् । विशेष दूतका रुपमा आए पनि ओलीले उनलाई आफूले नै बोलाएको बताउँदै आएका छन् । 

ओलीसँग एक्लाएक्लै भेटेकी स्वराजले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीसँग मोदी सरकार मिलेर काम गर्न तयार रहेको बताएकी थिइन् । सो क्रममा बहुमत ल्याएको भन्दै ओलीलाई स्वराजले बधाई दिएकी थिइन् । यद्यपि उनले आफू केही एजेण्डा लिएर नेपाल आएको नभई खुसियाली आदानप्रदान गर्न मात्रै नेपाल आएको एमाले नेतालाई बताएकी थिइन् । स्वराज आउने चर्चा चलेपछि एमाले नेताहरुले उनी आउनुअघि नै एमाले सरकारले भारतसँगको सम्बन्ध थप विस्तार गर्ने र मजबुत पार्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका थिए । 

स्वराजसँग वान टु वान वार्तापछि नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, नेताहरू राजन भट्टराई, विष्णु रिमाल, राजेश बज्राचार्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.युवराज खतिवडाले समेत सामूहिक भेट गरेका थिए । बिहीबार नै स्वराजलाई एमालेले रात्रिभोज नै दिएको थियो ।

राजपाका नेतालाई भनिन् – ओलीसँग सम्बन्ध सुधार्नुस् !

त्यस्तै स्वराजले बिहीबार नै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग भेट्दै भावी प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार्न भनेकी थिइन् । मधेशवादी नेताहरुले सोल्टी होटल पुगेर स्वराजलाई भेटेका थिए । उनलाई भेट्न जाने मधेशी नेताहरुमा राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महिन्द्र यादव रहेका थिए । उनीहरुसँगको भेटमा विदेशमन्त्री स्वराजले प्रदेश २ को मुख्यमन्त्री नियुक्तिबारे चासो राख्नुका साथै ओलीसँग सम्बन्ध सुधार्न सुझाएकी थिइन् । त्यस्तै भावी सरकार गठनमा समेत उनले मधेशवादी दलहरुको मनोविज्ञान बुझ्ने कोसिस गर्नुका साथै संविधान संशोधनबारे धारणा बुझेकी थिइन् ।  

प्रचण्डसँग १ घण्टा : भावी सरकारबारे गम्भीर चासो 

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय विदेशमन्त्री स्वराजलाई उनी बसेको होटल सोल्टीमा पुगेर भेटवार्ता गरे । उनीहरुबीच शुक्रबार बिहान झण्डै एक घण्टा भेटवार्ता भएको थियो । भेटपछि प्रचण्डले स्वराजको भ्रमणलाई सद्भाव भ्रमण भनेका थिए । सो क्रममा नेपालको परिस्थिति र नयाँ सरकार गठनको तयारीबारे भारतीय विदेशमन्त्रीलाई प्रचण्डले जानकारी गराएका थिए । सो क्रममा नेपालको भावी राजनीति कसरी अगाडि बढ्ला भनेर स्वराजले गम्भीर चासो राखेकी थिइन् । 

उपेन्द्र यादवलाई भनिन् – संविधान संशोधन कहाँ पुग्यो ? 

भारतीय विदेशमन्त्री स्वराज र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच होटल सोल्टीमा शुक्रबार भेटवार्ता भएको हो । अध्यक्ष यादवले त्यहाँ पुगेर एक्लै भेटवार्ता गरेका थिए । करिब आधा घण्टा भएको भेटमा स्वराजले संविधान संशोधन कहाँ पुग्यो भनी सोधेकी थिइन् । त्यस्तै उनीहरुबीच, प्रदेश २ को मुख्यमन्त्री चयनबारे पनि छलफल भएको थियो । 

किन आइन् स्वराज ? 

नेपाल आएर उनले गरेको राजनीतिक भेटघाट र त्यस क्रममा नेताहरुसँग लिएको चासोका विषयहरुले नै स्वराज केपी ओलीले बोलाएर आएको नभई प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएर आएको स्पष्ट हुन्छ । गत चुनावमा माओवादी, एमाले र अन्य ससाना दलसहितको वाम गठबन्धनले बहुमत ल्याएपछि मोदी सरकार निर्वाचन नतिजाले सशंकित भइसकेको थियो । किनकि आफैँले नाकाबन्दी लगाएर सरकार ढाल्न हरतरहको प्रयास गरे पनि मोदी असफल भएका थिए भने मोदीको त्यही कमजोरीमा ओलीले ‘चाइना कार्ड’ खेलेपछि नेपालमा ‘राष्ट्रवादी’ प्रधानमन्त्रीको ‘इमेज’ बनाउन सफल रहे । फलतः चीनसँग तत्कालीन प्रधानमन्त्री ओलीले पारवहन, द्विदेशीय रेलवे कनेक्सनजस्ता सम्झौता गरिदिए । अहिले नेपालमा इन्टरनेटमा भारतीय एकाधिकार समेत गुमिसकेको छ भने नेपालले चीनको ‘वान बेल्ट रोड’को बृहत् सडक सञ्जालसँग जोडिने सम्झौता गरिसकेको छ ।

यसबाट अतालिएका मोदीलाई निर्वाचन नतिजाले ओली थप बलियो बनाइदिएपछि अब उनीसँग सम्बन्ध नसुधारे चीनतिर ढल्किने र खुल्ला सीमा रहेको छिमेकलाई चीनले प्रयोग गर्ने भयले सताएको छ । यसअघि नै आफ्ना छिमेकी राष्ट्रहरु बंगलादेश, श्रीलंका, माल्दिभ्सलगायतलाई चीनले ऋण, प्रोजेक्टजस्ता विकास निर्माणका क्षेत्रमा सहयोग गरेको देखाएर भारतलाई घेरेको भनी बुझेको हुनाले नेपालको नयाँ नेतृत्वलाई रिझाउन र फकाउनकै लागि स्वराज नेपाल आएकी हुन् । अझ भनौँ पठाइएकी हुन् । किनकि ओलीलाई चिढ्याउँदा हुने बेफाइदालाई भारतीय नेतृत्वले अब राम्ररी बुझिसकेको छ । झन् भारतले गर्ने कुनै पनि नराम्रो कामलाई नेपाली जनताले नसघाउने बरु भारत नै थप नराम्रो बन्ने संविधान जारीपछिको नाकाबन्दीले गतिलै पाठ सिकाएको सन्दर्भमा ओलीलाई थमथम्याउनु भारतीय उद्देश्य हो । बुधबार मात्रै भारतले आफ्नो बजेट भाषणमा नेपाललाई दिने अनुदानमा व्यापक वृद्धि गरेको थियो । 

‘बेमौसमी भ्रमण’

आफ्नै पार्टीका अध्यक्षले नितान्त ‘वान टु वान’ भेटवार्ता गरिरहँदा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठले भने स्वराजको भ्रमणलाई भारतीय हस्तक्षेपको रुपमा लिए । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो असन्तुष्टि जाहेर गरे । उनीमात्रै होइनन्, कांग्रेसका नेता शेखर कोइरालाले पनि उनी आउनुअघि नै स्वराजको भ्रमणलाई रहस्यमय भनी टिप्पणी गरेका थिए । उनीहरुको उक्त टिप्पणीलाई नै बल दिने गरी स्वराजको नेपाल भ्रमणमा रहँदाको गतिविधि देखियो । किनकि उनी आइन्, सिधै ओलीसँग भेटिन्, प्रचण्डसँग भेटिन्, मधेशी नेतासँग भेटिन्, नयाँ सरकार गठनबारे चासो राखिन्, मधेशी नेतालाई संविधान संशोधनबारे जिज्ञासा राखिन्, ओलीसँग मिल्न आग्रह गरिन् र अन्त्यमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किइन् । तर उनले कांग्रेसका प्रधानमन्त्री देउवाबाहेक अन्य कुनै नेतासँग भेटवार्ता गरिनन् । यसले पनि उनको भ्रमण मिसनसहितको बेमौसमी भ्रमण थियो भन्ने पुष्टि हुन्छ । 

विदेशमन्त्री स्वराजको यसपटकको नेपाल भ्रमण ओलीको रात्रिभोजबाट सुरु भएर प्रधानमन्त्री देउवाको दिवाभोजसँगै टुंगिएको छ । स्वराजले काँग्रेस सभापति देउवाबाहेक अन्य काँग्रेस नेतालाई नभेटनु, उपप्रधानमन्त्री कमल थापा प्रधानमन्त्रीको दिवा भोजमा सहभागी नहुनु, सँगै चुनाव लडेका राजपा र उपेन्द्र यादवलाई अलग अलग भेट्नु र बढी ओलीमै केन्द्रित हुनु यस भ्रमणका हाइलाइटस् रहे । विगतमा दुई देशको सम्बन्धमा दरार आउदा आम जनताले दुख भोगेको स्थिति मनन गर्दै यी रात्रिभोज र दिवाभोजले आम जनतालाई थप पीडा नदिउन भन्ने सबैको न्यूनतम चाहना देखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै