• २०८१ बैशाख ७ शुक्रबार

बालबालिकालाई सुरक्षित कसरी राख्ने ? किन बढ्दै छ बलात्कारका घटना ?

kharibot

काठमाडौँ । भारतबाट मंगलबार एउटा हृदयविदारक खबर आयो — आठ महिनाकी बच्ची बलात्कृत भइन् भन्ने । घटना जहाँ भए पनि यो असामान्य घटना हो । यो घटनाले कुनै पनि उमेर समूहका बालबालिका कति सुरक्षित छन् भन्ने प्रश्न उठ्नथालेको छ । यी त बाहिर आएका घटनाहरु हुन् — अझ हाम्रो सामाजिक बनोट र यसका ‘साइड इफेक्ट’ले कैयौँ घटना त बाहिर नै आउँदैनन् ।

भारतमा त बलात्कारका घटना हरेक दिन बाहिर आउने गर्दछन् । खासगरी भारतको राजधानी नयाँ दिल्लीमा हरेक दिनजस्तो नै बलात्कारका घटना हुने गरेका छन् ।

बलात्कारका घटना हामीकहाँ पनि हरेक दिनजस्तो बाहिर आइरहेका छन् । केही दिनअघि खोटाङको खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । 

गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भयो । 

आठ वर्षीया अबोध बालिका बलत्कृत भइन् र उनको हत्या गरियो । चाहे भारतमा आठ महिनाकी बालिका हुन् या हाम्रो खोटाङमा आठ वर्षीया बालिका नै हुन्, हाम्रो समाजले यी कलिला चेलीहरुको सुरक्षा गर्न किन सकेन ? आमतहमा उठेको प्रश्न हो यो । हामी ठूला—ठूला राजनीतिक परिवर्तनका कुराहरु गरिरहेका छौँ, विकासका र आर्थिक छलाङ मार्ने कुरा गर्दै छौँ तर अबोध र अञ्जान बालबालिकाको सुरक्षामा के गर्दै छौँ ? अब प्रश्न उठाउने बेला भएको छ । 

बालबालिकाको सुरक्षामा अभिभावक र विद्यालयको ठूलो भूमिका हुने गर्छ । मुख्य कुरा हामीले कस्तो संस्कारमा हुर्काउँदै छौँ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण कुरा हुन आउँछ ।

त्यस्तै बच्चाको वरिपरि कस्ता मानिसहरुको संगत छ भन्ने कुरा मुख्यतः अभिभावकले नै पहिचान गर्नु अत्यावश्यक छ । बालबालिकामा हुने यौनशोषणका घटना धेरैजसो आफन्त र नजिकका मानिनेहरुबाट नै हुने गरेको पाइएको छ । त्यसैले आवश्यकभन्दा नजिक आफ्ना आफन्त छन् भने पनि उनीहरुको निगरानी गर्नु अभिभावकीय प्रमुख दायित्व अब हुनुपर्छ । विद्यालयमा शिक्षक र घरमा आफन्तहरुबाट हुने यौनशोषण अत्यन्त डरलाग्दो रुपमा विकसित भइरहेको उक्त घटनाहरुले देखाउँछन् । 

बालबालिकासँग यस्ता घटना जहाँ पनि हुनसक्छन्, आफ्नै घरमा, छिमेकमा वा स्कुलमा । अभिभावकले सकेसम्म बालबालिकालाई सचेत पनि गराउनुपर्दछ । खास गरी स्कुल जाने बच्चाहरुलाई त अहिले विभिन्न अनलाइनहरुमा सचेत गराउने भिडियोहरु पनि उपलब्ध छन् । ती भिडियो देखाएर कसैले आफलाई नराम्रो व्यवहार गरेमा तुरुन्त भन्न प्रेरित गर्नुपर्ने भइसकेको छ । साथै ग्रामीण इलाकामा यससम्बन्धी काम गर्ने गैरसरकारी संस्था, स्थानीय सरकारले सचेतना कार्यक्रम अभिभावक र बालबालिका दुवैलाई दिनुपर्ने अत्यावश्यकीय भइसकेको छ ।

बलात्कारको दोषीलाई अदालतद्वारा रिहा 

यसैबीच, बलात्कारको घटनाका दोषीलाई अदालतले प्रमाणको अभाव भन्दै छोडी दिएको घटनाले फेरि हाम्रो कानुन र समाजले यस्ता जघन्य अपराध गर्नेलाई छुट दिने क्रमले समेत पछिल्लो समय निरन्तरता पाएको छ । पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको केही दिनअघि मात्रैको समाचार हो यो । 

‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका तीन आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश दिएको थियो । ‘कसले घटना घटाएको भन्ने प्रश्नमा पीडित पक्षका कानुन व्यवसायीहरू कसैले कुन प्रतिवादीप्रति भनी देखाइदिन सकेको पाइँदैन’, आदेशमा भनिएको छ, ‘पीडितले समेत यी–यी व्यक्तिले करणी गरेको भनी लेखाइदिन सकेको देखिँदैन ।’   

उपचारका क्रममा होस खुलेपछि पीडित युवतीले दिएको किटानी जाहेरीमा प्रतिवादीहरूको नाम स्पष्ट रूपमा उल्लेख गरी आफूमाथि आक्रमण, मुख थुन्ने काम र ढुंगा प्रहार भएको उल्लेख गरेकी छन् । जाहेरीअनुसार पीडितमाथि सुरुमै ढुंगा प्रहार भएको देखिन्छ । त्यसपछि उनी बेहोस भइन् । जिल्ला सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘बेहोस अवस्थामा उनले आफूमाथि क–कसले जबर्जस्ती गरे, थाहा पाउने कुरै भएन ।’ जिल्ला अदालतको आदेशबाट रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर आश्चर्यजनक ढंगबाट साधारण तारिखमा रिहा भएका हुन् ।

साथै, आदेशले बलात्कार हुनुअघि नै पीडितमाथि आक्रमण भएको र त्यसक्रममा उनी बेहोस भएको घटनालाई बेवास्ता गरेको छ । घटनाको भोलिपल्ट बाटोमुनिको तोरीबारीमा बेहोस अवस्थामा भेटिएकी पीडितको एक साता लामो शिक्षण अस्पतालको आईसीयूमा रहेपछि मात्रै होस खुलेको थियो । बोल्न सक्ने भएपछि मात्रै पीडितको किटानी जाहेरीका आधारमा आरोपितहरू पक्राउ परेका थिए ।

यी प्रतिनिधि घटना हुन् । विभिन्न संघ÷संस्था, राजनीतक दल र अधिकारकर्मीहरुले यस्ता घटनाको पर्याप्त विरोध गर्न आवश्यक छ ।  

बालबालिकामा यौनशोषण भएको कसरी पत्ता लगाउने ?

१.    यदि कुनै बच्चाको शरीरमा घाउ वा चोटपटक वा कुअनी प्रकारको निशाना छ भने यसको विस्तृत जानकारी लिनुपर्छ ।

२.    यदि कुनै बच्चामा आत्मविश्वासको कमी छ, बच्चाले हरेक गल्तीमा आफूलाई नै जिम्मेवार ठान्छ या बच्चाले कोहीप्रति विश्वास नै गर्दैन भने बच्चा विगतमा कुनै किसिमको मानसिक उत्पीडनको शिकार भएको हुनसक्छ ।

३.    यदि कुनै बच्चा मानिसहरुको नजिक आउन डराउँछ, आफैँलाई घृणा गर्छ र आफ्नो शरीरप्रति पनि खासै माया गर्दैन भने बच्चा विगतमा यौनशोषणको चपेटामा परेको हुनसक्छ ।

४.    बाल्यावस्थामै यौनउत्पीडनको शिकार भएकाहरु वयष्क भएपछि साइकोलोजिष्ट (मनोवैज्ञानिक)को सहयोग लिनुपर्दछ । ता कि जीवनमा अगाडि बढ्न सकियोस् ।

र अन्त्यमा, 

कानुनी रुपमै बलात्कार जघन्य अपराध हो । जुनसुकै उमेरसमूहका महिला, बालिका र युवतीविरुद्ध हुने बलात्कारलाई अपराध मानिएको छ र सार्वजनिक भएका यस्ता घटनामा संलग्नहरुले कानुनअनुसार दण्डसजाय भोग्दै पनि आएका छन् तर पनि बलात्कारका घटनामा कुनै कमी आउनसकेको पाइँदैन । किनकि मानिसहरुमा अझ भन्नुपर्दा समाजमा नैतिकता मर्नु यसको उपज हो । राजनीति, समाज, धर्म र अन्य विभिन्न कुरामा नैतिकताको महत्व ठूलो  हुन्छ, जब यी क्षेत्रमा नैतिकता हराउनथाल्छन्, समाज भ्रष्टाचार, बलात्कारजस्ता देखिने र नदेखिने हिंसाबाट विकृत हुन पुग्छ ।

राजनीतिमा करोडौँका भ्रष्टाचार मुद्दाहरु अदालतमा दायर हुनु, समाजमा चेलीबेटीहरु बलात्कृत हुनु, बोक्सीको आरोपमा मानवमलमूत्र खुवाइनु, छुवाछूत गरिनु, छाउपडीलाई प्रश्रय दिइनु यी सबै नैतिक पतनका उपज हुन् । कतिपय अवस्थामा बलात्कारकै घटनालाई नितान्त व्यक्तिगत मिलेमतो गरेर राज्यका नियमन गर्नुपर्ने निकायकै अनैतिक चरित्रधारी प्रहरीबाटै रकमको लेनदेनमा लुकाउने गरिँदा पनि अन्यायमा परेका महिला, बालिका, युवतीहरुमाथि थप अन्याय गरिँदै आएको छ । यसो हुनुहुँदैन ।

सोही कारण व्यक्ति, समूह, पदाधिकारी र निकायले आफ्नो नैतिकता के हो र कानुनअनुसार गर्नैपर्ने कुराहरुलाई कानुनअनुसार नै गर्नुपर्छ, न कि रकमले लोभ्याएर घटना लुकाउने । कानुन त घटना थाहा भएपछिको प्रक्रिया हो, नैतिकता त व्यक्तिभित्रबाटै सुरु हुने महत्वपूर्ण मानवीय गुण हो, यसको अभाव खट्किँदा न कानुनले रोक्न सक्छ, न समाजले ।

त्यसकारण सबैभन्दा पहिले व्यक्ति, परिवार, समाज, राजनीतिक दल, समूहले आफ्नो नैतिकताको ख्याल गर्न सक्नुपर्छ । अन्यथा, समाजमा यी घटनाहरु भइनै रहनेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै