• २०८१ बैशाख ८ शनिबार

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

kharibot

फाइल फोटो ।

वीरगञ्ज । जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ । 

सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको उपस्थितिका आधारमा यसको संख्या दोब्बर हुन सक्ने अनुमान गरिएको हो । सन् २०१३ को बाघ गणनाअनुसार उक्त निकुञ्जमा पाटेबाघको संख्या सात थियो । 

विगत दुई महिनादेखि शुरु गरिएको पाटेबाघको गणनाअन्तर्गत बाघको गतिविधि, वासस्थानजस्ता ठाउँमा चहलपहल देख्दा बाघको संख्या दोब्बर हुने निकुञ्जका संरक्षण अधिकृत हरिभक्त आचार्यले बताएका छन् । 

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जभित्र १६७ स्थानमा गरी ३०० स्वचालित क्यामेरा जडान गरिएको छ । बाघको वासस्थान पहिचान गर्न निकुञ्जभित्र सात वटा हात्ती तथा कर्मचारीलाई परिचालन गरिएको र ती कर्मचारीको भनाइअनुसार निकुञ्जभित्र पाटेबाघको उपस्थिति राम्रो रहेकाले यसको संख्या दोब्बर हुने अनुमान गरिएको हो । 

पथलैया–अमलेखगञ्ज–९ किमी सडकखण्डमा सवारी साधन ओहोरदोहोर गर्ने गर्दा बाघको सुरक्षामा चुनौतीसमेत थपिएको छ भने अर्कोतिर पथलैया वरिपरि रहेको उद्योग कलकारखानाबाट निस्कने धुवाँ धुलोका कारण पर्या–पर्यावरणमा नकारात्मक प्रभाव पर्न गई निकुञ्जमाथि थप चुनौती बढ्न गएको बताइएको छ । 

पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म रहेको आरक्ष तथा निकुञ्ज बाघका लागि उपयुक्त स्थान मानिएको छ । पछिल्लो राष्ट्रिय तथ्यांकअनुसार पर्सामा सात, बाकेमा चार, शुक्लाफाँटामा १७, बर्दियामा ५० तथा चितवनमा १२० वटा बाघ रहेको छ । 

६२७.२९ वर्गकिलोमिटरमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज जैविक विविधता र लोपोन्मुख जनावर चराचुरुङ्गीका लागि प्रख्यात छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै