• २०८१ बैशाख ५ बुधबार

शहीद दिवस [लघु कथा]

kharibot

शहीद दिवसको दिन बिहानै शहीद गेटमा ठुलो घुइँचो लागेको छ । शहीदहरूको सम्मान गर्न सयौ मानिसहरू शहीद गेट अगाडी जम्मा भएका छन सबैको हातमा माला, दियो लगायतका सम्मानका सामग्रिहरू छन् । चारैतिर ‘शहीद दिवस अम्मर रहोस’, ‘हाम्रा शहीद महान रहुन’ जस्ता नाराहरू गुन्जीरहेका छन् । भित्ताभरि बिभिन्न सहिदहरूका तस्विर भएका व्यानरहरू झुण्याइएका छन् । शहीद गेटदेखि सुन्धारा पट्टिको भागमा सम्मान गर्न आउनेहरूको भिड छ । “आज हाम्रा नेपाली जनताहरूले हाम्रो सम्मान गर्ने र हामिलाई सम्झीने दिन, सम्मानकोलागि पर्खेर बसेका होलान छिटो छिटो जाऔँ” भद्रकाली मन्दीरको दाहिने पट्टिबाट लामो डेगचाल्दै चार शहीदहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री शहीदगेट तिर अगाडी बढिरहेका छन् । 

काठमाण्डौका ठूला ठूला घरहरू, ठाउँ ठाउँमा खोलिएका विद्यालयहरू, भत्कीएकै भएपनि कालोपत्रे गरेका सडकहरू देखेर चार शहीदहरूको मनमा धेरै खुसि लागेको छ । “हामिले हाम्रा सन्ततिहरूलाई सुम्पेर गएको नेपाल निकै बदलिएछ” चारै शहीद मनमनै सोचिरहेका छन् । त्यो भन्दा पनि नेपालीहरूले आफुहरूप्रति देखाएको सम्मान, सहरैभरि शहीद दिवसमा आयोजना गरिएका थुप्रै कार्यक्रमहरू र चिटिक्क पारेर सजाइएको शहीद गेट देखेर हर्ष बिह्वल भएका छन् । बर्षौदेखि मौन र नजर झुकाएर टुँडिखेलको छेउछाउ उभिएका राणाहरूका सालिकहरू आज पनि मौन छन् । चार शहीदहरू प्रशन्न मुद्रामा अगाडि बढीरहेका छन् । भद्रकाली छेउबाट अगाडी बढ्दै गर्दा चारै तिरबाट मान्छेहरू आउँदै गरेकोजस्तो आवाज सुनिन्छ । एकै छिनमा ति मानिसहरू हस्याङपस्याङ गर्दै चार शहीदहरूको नजिकै आइपुग्छन् । मानिसहरू हतारमा देखिन्छन । एकले अर्कालाइ तान्दै र घचेट्दै अगाडी बढिरहेका छन् ।

उनिहरूलाई हेर्दा लाग्छ की त्यहाँ कुनै प्रतिशपर्धा चलिरहेको छ । उनिहरु एकले अर्कालाई जित्ने प्रयासमा छन् ।  तिनिहरु मध्ये एउटाले आफुभन्दा अगाडिकोलाई तान्दै भन्छ “त भन्दा म ठूलो शहीद हो सम्मान पहिले मैले पाउनुपर्छ” अर्कोको रिसले जङ्घीदै प्रति प्रश्न गर्छ  “ तँ सडक दुर्घटनामा मरेको होइनस ? तेरा आफन्तले आन्दोलन गरेर घोषणा गरेको शहीद, बडो आउँछ अगाडी सम्मान थाप्न” फेरी तेस्रो अगाडी आउँछ “तँ धेरै फुर्ति नलगा तेरो बारेमा त कसैलाइ थाहै नभएजस्तो तँ पनि त व्यक्तिगत झगडामा मरेको होइनस ?” उछिन्दै उगाडी बढ्छ  “पार्टीको मान्छे भएर शहीद घोषणा गरिएको बडो आउँछ शहीद” । चार शहीदहरूलाई आश्चर्य लाग्छ । मुखामुख गर्छन । “यिनिहरू पनि शहीदै रहेछन क्यारे, सम्मान थाप्न आ’का ।” त्यो भिड़ चार शहीदहरुको नजिकै आइपुग्छ । हुलका मान्छेहरूले चार शहीदहरूलाई लछार पछार पार्छन । चार शहीदहरू सडकमा पछारिन्छन । बल्ल तल्ल हुलबाट निस्किएर सडक छेउ उभिन्छन् । हुल शहीदगेट अगाडि पुग्छ । सम्मान गर्न आएका मानिसहरूका हातका माला र फूलहरू एकाएक हराउँछन् । आएका शहीदहरूको भिड अनियन्त्रीत हुन्छ । ‘शहीद’हरूमा आफू आफूमै लुछाचुँडि हुन्छ, तानातान हुन्छ । फूलको मालाहरू सडकमा च्यातचुत हुन्छन् । दियोहरू निभ्छन । सम्मान गर्नेहरूको र्याली रत्नपार्क तिर अगाडि बढ्छ । चारैतिर फेरि तिनै नाराहरू गुन्जिन्छन, ‘शहीद दिवस अमर रहोस’ । ‘हाम्रा शहीद अमर रहून’ । चार शहीदहरू बल्लतल्ल सम्हालिदै छेउमा उभिएर सबै तमासा हेरिरहन्छन । केहि नबोली चुपचाप स्वर्गतिर फर्किन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै