• २०८१ बैशाख १४ शुक्रबार

एमबिबिएस भर्नामा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीद्वारा विरोध

kharibot

फाइल फोटो ।

काठमाडौँ । एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । 

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा आज माइतीघर मण्डलामा विद्यार्थीले विरोध र्याली निकालेका छन् । 

विद्यार्थीले ‘हाम्रा राम्रा दिन फर्कन दिनुहोस्, हामी विद्यार्थी हौँ, बैंक होइनौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका थिए । आइओएम क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा सो विरोध र्याली निकालिएको थियो । 

सो अवसरमा विद्यार्थीले वार्षिक शुल्क, सुरक्षा शुल्क, इन्टरनसीप शुल्कलगायतका शीर्षकमा अतिरिक्त शुल्क असुली गरी विद्यार्थीलाई मनि बैंकका रुपमा प्रयोग गरिरहेको आरोप लगाएका थिए । 

आइओएमका स्ववियु सभापति डा मिलन गैरेले सरकारले निर्धारण गरेकै शुल्कमा नै अन्य शीर्षकका शुल्क समेटिए पनि निजी कलेजले विद्यार्थीसँग विभिन्न शीर्षक थप गरी रकम लिइरहेको आरोप लगाए । 

कलेजले अतिरिक्त शुल्क लिइरहेको गुनासो आएपछि आइतबार आइओएम ले सूचना जारी गर्दै बढी शुल्क नलिन कलेजलाई ध्यानाकर्षण गराएको छ । आइओएमद्वारा जारी सूचनामा बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरिएको छ । 

सूचना जारी गर्दै आइओएमको डीन कार्यालयले निजी कलेजले अतिरिक्त शुल्क लिन पाउने शीर्षक तोक्दै परीक्षा शुल्क, छात्राबास शुल्क र खाना शुल्कमा मात्र थप शुल्क लिन पाउने स्पष्ट पारेको छ । अहिले आइओएमअन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस भर्ना चलिरहेकाले कलेजले तोकिएकोभन्दा बढी शुल्क लिइ भर्ना लिइरहेको गुनासो बढेको छ । 

सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार लिन पाउने व्यवस्था गरेको छ । आइओएमले सरकारले तोकेको रकममा माथि उल्लेखित तीन शीर्षकबाहेक अन्य शीर्षकमा थप रकम नतिर्न विद्यार्थी र अभिभावकलाई सचेत गराएको हो । 

यसैबीच सोलिडारिटी फर डा केसी अलाइन्सले पनि विज्ञप्ति जारी गर्दै ठगी गर्ने मेडिकल कलेजलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारबाही अघि बढाउन हामी सम्बन्धित निकायसँग माग गरेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै