• २०८१ बैशाख १२ बुधबार

दुई महिनामा एक हजार सवारीमा इम्बोष्ड नम्बर प्लेट, पाँच वर्षभित्र २५ लाखमा जोड्ने सरकारी लक्ष्य

kharibot

फाइल तस्बिर

काठमाडौं । सरकारले अबको पाँच वर्षभित्रमा २५ लाख सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान गर्ने योजना अघि सारेको छ । 

यातायात व्यवस्था विभागले मुलुकभरका २५ लाख सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान नीति लागू गर्ने तयारी गरेको छ ।

गत कात्तिक २० गतेदेखि इम्बोष्ड नम्बर प्लेट जडान गरिएअनुसार हाल सडकमा छिटफुट रुपमा केही सवारी साधन देखिएका छन् । विभागका सूचना अधिकारी विरेन्द्रबहादुर स्वारले यो लक्ष्यलाई कार्यान्वयनमा ल्याउनका लागि जनशक्ति व्यवस्थापनका साथै कार्यालयलाई पनि प्रविधिमैत्री बनाउने काम भइरहेको जानकारी दिए । उनले नम्बर प्लेट खरिद गरिने र त्यसपछि सवारीमा जडान गरिने कार्य विभागमातहतका कार्यालयहरुबाट हुने बताए । सुरक्षाका दृष्टिकोणले पनि इम्बोष्ड नम्बर प्लेट आवश्यक देखिएको छ ।

सरकारले नेपालमा पनि विद्युतीय नम्बर प्लेटको सुरुवात गर्नका लागि दुई वर्ष अघि गरिएको टेण्डर आह्वान गरेको थियो । लामो समयपछि यो व्यवस्था हाल नेपालमा कार्यान्वयनमा आएको छ । गत भदौदेखि नै कार्यान्वयनमा आएको इम्बोष्ड नम्बर प्लेट जडान विभिन्न विवादका कारण गत कात्तिक २० गतेदेखि कार्यान्वयनमा आएको हो । मुलुक संघीयतामा गइसके पनि सरकारले अञ्चलकै नाममा इम्बोष्ड नम्बर प्लेट राखेर कार्यान्वयनमा ल्याए पछि यसमा विवाद भएको थियो ।

एक हजार सवारीमा इम्बोष्ड नम्बर प्लेट जडान

यस व्यवस्थालाई सच्याएर विभागले पहिलो चरणमा प्रदेश नम्बर ३ को काठमाडौंबाट प्रदेश नम्बर राखेर इम्बोष्ड नम्बर कार्यान्वयनमा ल्याएको छ । सोहीअनुसार हालसम्म करिब एक हजार सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान भएको विभागका सूचना अधिकारी स्वारले जानकारी दिए । उनले भने, ‘इम्बोष्ड नम्बर प्लेट जडान कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छौँ, पछिल्लो समयमा इम्बोष्ड नम्बर प्लेट जडानका लागि निवेदन दर्ता गराउनेको संख्यामा पनि वृद्धि भएको छ ।’

सरकारले मुलुकभरका सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान कार्यलाई अनिवार्य गरेको छ । हाल चार पांग्रे सवारीमा इम्बोष्ड नम्बर प्लेट जडान गरिएको छ । उच्च प्रविधिमा आधारित र सवारी साधनसमेत ट्रयाकिङ गर्न सकिने भएकोले यस प्रविधिलाई उच्च चासोका साथ हेरिएको छ ।

इम्बोष्ड नम्बर प्लेटका लागि २४ सयले दिए निवेदन

सबै प्रकारका सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान कार्यलाई अनिवार्य गरेपछि गत कात्तिकदेखि हालसम्म प्लेट जडानका लागि करिब २४ सय सवारी धनीले अनलाईन आवेदन दिएको विभागका सूचना अधिकारी स्वारले बताए । इम्बोष्ड नम्बर प्लेट जडानको कार्य प्रभावकारी रुपमा अघि नबढेका बेला परेको आवेदनले यसप्रति विस्तार सवारी धनीहरु सकरात्मक देखिएको विभागको भनाइ छ ।

यो प्रविधि नेपालमा पहिलो पटक प्रयोग आएको हो । हाल प्रदेश नम्बर ३ बाट सञ्चालन गर्ने निर्णय भएअनुसार अहिले साविकको बागमती अञ्चलअन्तर्गत दर्ता रहेका सरकारी, संस्थान र निजी ३ पांग्रे र ४ पांग्रे साना सवारीमा यो प्रविधि जडान गरिदैँ आएको छ । यससँगै विभागले गत मंसिर २९ गते एक सूचना जारी गरी साविक बागमती अञ्चल हाल प्रदेश नम्बर ३ मा दर्ता भएका सबै प्रकारका सरकारी, संस्थान र निजी सवारी साधनहरुमा अनिवार्य रुपमा इम्बोष्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिइसकेको छ । सोहीअनुसार सम्पूर्ण सरकारी तथा संस्थानका चार पांग्रे सवारी साधनहरुले २०७४ चैत्र मसान्तसम्म अनिवार्य रुपमा सवारी साधनमा इम्बोष्ड नम्बर प्लेड जडान गरिसक्नु पर्नेछ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै