• २०८१ बैशाख ८ शनिबार

जंगली जनावरले महोत्तरीमा लाखौँको हिउँदे बाली सखाप

kharibot

गौशाला ।  महोत्तरी जिल्लाको पश्चिम उत्तरवर्ती दर्जनाँै गाउँमा जंगली जनावरले लाखौ रुपैयाँको हिउँदे बाली सखाप पारेका छन् । 

भारतसँग सीमा जोडिएको जिल्लाको खयरबन्नी, रघुनाथपुर, गैंढाभेटपुर, पोखरभिण्डा, संग्रामपुर, पर्सादेवार, निगौल, सोनमा, मनरा, इटहर्वाकट्टी, कटैया, एकडारा, बथनाहा, साँढालगायत त्यस क्षेत्रका दर्जनौँ गाउँमा केही दिनदेखि हूलका हूल जंगली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले बताएका छन् । 

सो क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन बाली र फलफूल जंगलबाट आएका नीलगाई, घोरगद्दर र जंगली सुँगुरले सखाप बनाएको खयरबन्नीका किसान शिवजी यादवले बताए । दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र रातिको बेला दर्जनाँैको संख्यामा आएर ती जनावरले किसानको बालीनाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको इटहर्वाका किसान रामप्रगास साहले बताए । 

ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर रातिको बेला जाँदा जनावर मानिसको आहट पाउने बित्तिकै तीव्र गतिमा वनतिर भागेर लुक्ने गरेको र पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनराका किसान सत्यनारायण मण्डलले बताए । 

जंगली जनावरको आतंकले अहिले ती क्षेत्रका किसान हिउँदे बालीबाट कमाई हुने लाखाँै रुपैयाँ गुमाएको गुनासो गरेका छन् भने जनावरले एक्लै पाएको खण्डमा आक्रमणसमेत गर्ने गरेकाले एकाबिहानै बालबालिकालाई पनि घरबाहिर निकाल्न नसक्ने भएको एकडाराका किसान बिरजु महतोले बताए ।

जिल्लाको पश्चिमी उत्तरी क्षेत्रमा वन, जंगल र खोला किनारामा रहेका ठूल्ठूला घाँसपातमा ती जनावर समूह बनाएर बस्ने गरेका छन् भने रातिको मौका छोपी लाखौँको हिउँदे बाली चरीचरण गरी सखाप पार्ने गरेका छन् जसबाट त्यस क्षेत्रका दर्जनाँै गाउँमा सयौँ किसान परिवार मारमा परेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै