• २०८१ बैशाख ७ शुक्रबार

स्थानीय तहले संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्ने

kharibot

फाइल तस्बिर

काठमाडौँ । संविधानले दिएको अधिकार प्रयोग गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । 

नेपाल नगरपालिका संघले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ बाट निर्वाचित नगर प्रमुख र उपप्रमुखको भेलामा उनीहरुले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय तहलाई सम्पन्न स्थानीय सरकार बनाउनुपर्नेमा जोड दिए । 

तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार बलियो हुनुपर्ने बताउनुभयो । उनले संविधानमा रहेको व्यवस्थालाई अंगालेर राम्रो नीति निर्माण गरेर स्थानीय अधिकार उपभोग गर्नुपर्ने धारणा राखे । ‘स्थानीय तहले आफैँ नीति निर्माण गरी कार्यान्वयन गर्ने हो’ – उनले भने, ‘तर त्यही नीति निर्माणमा चुक्यौँ भने स्थानीय सरकार बलियो हुँदैन ।’ 

पौडेलले जनप्रतिनिधि उद्घाटन, गोष्ठी, भ्रमण, कर्मचारी सरुवामा अल्झिनुभन्दा पनि नीति निर्माण र नीति कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राखे । 

कार्यक्रममा संविधानविद् डा विपिन अधिकारीले स्थानीय तहलाई पनि संघ र प्रदेशमा जस्तै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार रहेको भन्दै संविधानले दिएको अधिकारलाई उपयोग गर्न स्थानीय तहले ढिला गर्न नहुने बताए । 

‘संविधानले दिएको अधिकार ढिला गर्ने हो भने स्थानीय तहको अधिकार कुनै न कुनै नाममा केन्द्र वा प्रदेशबाट मिचिन थाल्छ’ – उनले भने, ‘त्यसैले संविधानले दिएको अधिकार प्रयोग गर्न पछि पर्न हुदैन ।’ 

कार्यक्रममा ‘संघीयतामा स्थानीय सरकारः संविधानको कार्यन्वयन र अधिकार’ विषयको कार्यपत्र प्रस्तुत गर्दै कृष्णप्रसाद सापकोटाले संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाए । उनले संविधानले स्थानीय तहका अधिकार उल्लेख गरेपनि अहिलेसम्म उपभोग गर्न नपाएको बताए । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा बजेट बाँडफाँडमा अर्थ मन्त्रालय हाबी भएको पनि उनको भनाइ रहेको थियो । कार्यक्रममा नुवाकोटका बेलकोट नगरपालिकाका प्रमुख राजेन्द्ररोमन खनालले संविधानले स्थानीय तहको अधिकार दिएपनि उपभोग गर्न नपाएको गुनासो गरे । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले संविधानमा भएका अधिकार उपयोग गर्नका लागि कानुनी अड्चन भएको बताए । भेलामा प्रदेश नंं ३ का करिब ५० जनप्रतिनिधिको सहभागिता थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै