• २०८१ बैशाख ४ मंगलबार

अधिकार प्राप्त गर्दैछन् अरबी महिला

kharibot

काठमाडौँ ।  साउदी अरेबियामा महिलाले फुटबल खेल हेर्न रङगशाला प्रवेश गर्न पाउने समाचारले यो महिनाको सुरुवातमा लगभग अन्तरराष्ट्रियस्तरमा नै ठूलो प्राथमिकता पायो । साउदी अरेबिया र गल्फमात्र होइन कि विश्वका अन्य देशहरुले यस समाचारलाई ठूलो महत्वका साथ दिए । 

विश्वका कैयौँ देशका महिला राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशको शासन सञ्चालनमा पुगेका छन् । तर पनि साउदी अरेबियामा बल्ल महिलाले यस्तो अधिकार प्राप्त गर्दैछन् भने समाचारले प्राथमिकता नपाउने कुरा पनि भएन । साउदी अरेबियाको सरकारले सन् २०१५ को डिसेम्बर १२ मा भएको नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलालाई मतदान गर्ने अनुमति दिएको समाचारले पनि यस्तै चर्चा पाएको थियो । त्यस समयमा महिलाले आफ्नो यो मताधिकारलाई एउटा ठूलो पर्वका रुपमा नै मनाएका थिए । 

यसअघि पनि साउदी अरबको ट्राफिक कार्यालयले महिलालाई पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गरेको समाचारले अन्तरराष्ट्रिय सञ्चारमा स्थान पाएको थियो । ती सञ्चारमाध्यम साउदी अरबले महिलालाई ठूलो न्याय गरेको भान हुनेगरी समाचार छाप्न बाध्य भएका थिए । यो पनि तत्काल लागू नभई औपचारिकरुपमा भने यस वर्षको मध्यबाट मात्र लागू हुने बताएको थियो । महिलालाई ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था गत डिसेम्बर १६ मा गरेको थियो ।  

साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलालाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । यी देशमा मानव अधिकारको विषयमा महिला र पुरुष समान रहेका र उनीहरुले पनि अकिकार पाउनुपर्ने बताउने गरिएकै हुन्छ । तर व्यवहारमा भने त्यस्तो थिएन । 

करिब दुई हप्ताअघि जेद्दाहामा भएको फूटबल खेल प्रतियोगीतामा साउदी अरबका महिलाहरु पहिलो पटक सहभागी भएर नयाँ इतिहास रचेका टिप्पणी गरियो । यसअघि साउदी अरबमा रङगशालामा नै गएर फुटबल प्रतियोगीता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो । अव आफ्ना परिवारजनसँग फुटबल प्रयोगीता हेर्न वा प्रयोगीतामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको बडो गर्वसाथ खुलासा गरेको थियो । साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको सूचना हालै प्रकाशित गरेको हो । 

यस रङगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रवेशद्धार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ । यसवषर््ाको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलाउन र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाईने व्यवस्था पनि गर्ने निर्णय गरेको छ । 

प्रतियोगितामा खाडी राष्ट्रका महिलाले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएको विज्ञहरुको भनाइ रहेको छ । 

महिला फुटबल प्रतियोगीता हेर्नपाउने, सवारी चलाउन पाउने, चलचित्र हलमा गएर चलचित्र हेर्नपाउने जस्ता कुरा वास्तवमा भन्ने हो भने अहिलेको युगमा अन्तरराष्ट्रिय जगतमा नै समाचार बन्ने विषय भने होइन । तर साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै धेरै अनुदार मुलुक मानिन्छ । त्यसका कारण पनि यो समाचारले प्राथमिकता पाएको हो । 

यस्तो अनुदार देशमा महिलाप्रति यी सरकारी निर्णय पक्कै पनि चर्चा गर्न लायक र विश्वमा नै समाचार त बन्ने नै भयो । यस अगाडी साउदीमा महिलालाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो । मुस्लिम देश साउदीमा महिलाहरुले कालो बुर्का लगाउने र अनुहार तथा शरीर छोप्नु पर्ने सांस्कृतिक प्रचलनका कारण सवारी साधन चालक बन्न पनि नदिने गरिएको थियो । यद्यपी महिलाले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनुपर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीहरुले लामो समयदेखि दबाव दिँदै आएका थिए । 

जर्मनी, बेलायत, भारत, पाकिस्तान, नेपाल, दक्षिण कोरिया, बङ्गलादेश म्यानमारलगायतका देशरुका महिला देशको उच्च नेतृत्व तहमा नै पुगेका छन् । जर्मन चान्सलर एन्जेला मार्केल चौथो पटक पनि निर्वाचन जित्न सफल भई चान्सलर बन्न सफल हुनुभएको छ । युरोपियन युनियनबाट बेलायत अलग्गिने जनमतपछि सत्तामा आउनुभएका बेलायतका अर्का महिला प्रधानमन्त्री टेरेसा मे बेलायतको सत्ताको बागडोर सम्हाल्न सफल हुनुभएको छ । अमेरिकामा पनि सन् २०१६ मा शक्तिशाली महिलाको सूचीमा रहनुभएकी अमेरिकी पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन सन् २०१६ को नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपति पदको उम्मेदवार बन्नुभयो र लगभग जितको नजिक नै पुग्नुभयो । 

त्यसैगरी साहित्यतर्फ पनि महिलाहरुको उच्च स्थान देखिन्छ, सुनिन्छ । बेलारुसकी पत्रकार तथा लेखिका एसभेट्लाना अलेस्किभीचलाई सन् २०१५ को साहित्यका लागि नोवेल पुरस्कार प्रदान गरिएको थियो । नेपालमा समेत एकजना महिला नेत्री विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभयो । त्यस्तै प्रधानन्यायाधीश, सभामुखजस्ता महत्वपूर्ण स्थानमा नेपालका महिला पुगिसक्नुभएको छ । 

आर्थिक, सामाजिक एवम् राजनीतिकरुपमा समेत महिलापछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमा समेत एकजना महिला देशको प्रमुख र पहिलो पदाधिकारीका रुपमा निर्वाचित हुनुलाई संसारका कतिपय देशका सञ्चारमाध्यमले उदाहरणका रुपमा आफ्ना समाचारका विषयवस्तुमा पारेका थिए । महिलाको यस्तो प्रगतिको चर्चापछि साउदी अरेबियामा यस्ता स¬¬–साना कुराहरु पनि गर्वगर्न लायक भनी प्रचार गर्दा त्यहाँका महिलाको अवस्था झल्किन्छ नै । यद्यपी दक्षिण एसियाली राष्ट्रहरुमा महिला र पुरुषलाई समान व्यवहारको जतिसुकै नारा लगाइए पनि भनिएजस्तो महिला सशक्त भने छैनन् । 

मुस्लिम राष्ट्रहरुमा महिलाप्रतिका नीति अझै अनुदार नै छन् । यस्तै अनुदार देशका रुपमा रहेको साउदी अरेबियामा पनि फुटबल खेलमा सहभाागीता, सवारी साधन चलाउन पाउने र चलचित्र भवनमा गएर चलचित्र हेर्न पाउनेजस्ता महिलाका लागि गरिएका अग्रगामी परिवर्तनबाट यहाँका महिलामा उत्साह थपिएको पाइएको छ । उनीहरुमा अधिकारका लागि आफ्नो पहल पनि आवश्यक छ भन्ने कुराको महसुश पनि भएको छ । 
(विभिन्न एजेन्सीको सहयोगमा) 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै