• २०८१ बैशाख ६ बिहीबार

ठेलामा मःम व्यापार, स्वदेशमै पैसाको वहार !

kharibot

काठमाडौं । राजधानीको व्यस्त ठाउँ पुतलीसडकमा एउटा गाडामा बेचिने मःमको नाम हो नाङ्लो मःम । नाङ्लो मःम भने पनि यो ठेलामा राखेर बेचिने मःम हो । उपत्यकामा अधिकांशको रोजाइको खाजा हो चाउमिन र मःम । त्यसमा पनि धेरैले खाने गर्छन् मःम । 

काभ्रे घर भई विशालनगरमा बसोबास गर्दै आएका हरिप्रसाद गौतम विगत सात वर्षदेखि पुतलीसडकमा मःम बेच्दै आइरहेका छन् । सात वर्षअघि आफ्नो छोराले सुरु गरेको मःम व्यापारलाई हरिप्रसादले पनि निरन्तरता दिँदै आइरहेका छन् । 

छोराहरु होटलमा काम गर्ने भएकाले आफूले जानेको काम गर्ने क्रममा ठेला मःम सुरु गरेको र पछि आफू यसैमा लागेको गौतमले बताए । जे होस्, गौतम खुसी छन् । आफूले अन्यत्र गएर काम गर्दा १०-१२ हजार दिने गर्छन् तर उनले आफ्नै ठेला मःमबाट मासिक ४० हजारको हाराहारी मासिक पैसा कमाउँछन् । 

उनी बिहान ६ बजेदेखि साँझ ७ बजे सम्म आफ्नै मःम पसलको काममा व्यस्त  हुन्छन् । ‘कमाइ पनि राम्रै छ’, उनी भन्छन् ।  आफ्नै दुई छोरा र आफूसहित काममा खट्दा त उनलाई भ्याइनभ्याइ हुने उनको भनाइ छ । त्यसैले उनले थप दुई जना सहयोगी समेत राखेका छन् । उनी त्यतिबेला साह्रै खुसी हुन्छन्, जतिबेला उनीहरु पाँच जना नै काममा व्यस्त हुन्छन् । खाली हात कोही बस्नुपर्दैन । 

नाङ्लो मःम ! 

काठमाडौँ उपत्यकालगायत सबै ठाउँमा चल्ने, बिक्री हुने खाजामा गनिन्छ नाङ्लो मःम । आफूले लामो समयदेखि ठेलामा मःम बेच्दै आएको भएता पनि उनले नामसहितको ठेला सुरु गरेका थिएनन्, तर अब त उनलाई धेरैले नाङ्लो मःम बेच्ने अंकल भन्दै सम्बोधन गर्दा खुसी लाग्छ उनलाई । भन्छन्, ‘नाङ्लो नामले चिनाउँदै छ ।’ 

‘भन्न त भन्ने गरिन्छ नाङ्लोमा खायो भने नाङ्लो जत्रो पेट हुन्छ तर...’, गौतम ठट्टा गर्दै भन्छन्, ‘...मःम खाने ठूलो नाङ्लोमा हैन, सानो नाङ्लोमा खाँदा केही हुँदैन ।’ उनी थप्छन्, ‘नाङ्लो मःम खाएर पेट ठूलो भयो भनेर कोही आउनुभएको छैन ।’ झन् साह्रै मिठो भन्दै पटक पटक मःम खान आएको गौतम सुनाउँछन् ।

जब आहा कति मिठो भन्दै मःम खान्छन् तब गौतमलाई पनि खुसी लाग्छ । साँच्च्चै आफूले मिहिनेत गरेको सफल भएको लाग्छ उनलाई । आफूले नयाँ नामले चिनाउन नाङ्लो मःम राखेको बताउने उनी आफ्नोमा मःम खान आउने धेरै विद्यार्थीहरुलाई नाङ्लो के हो भन्ने थाहा नभएको सुनाउँछन् ।

भन्छन्, ‘नाङ्लोको बारेमा समेत थाहा नभएकाहरुलाई बताउने गरेको छु ।’ 

बिहान ६ बजेबाट नै काममा गौतम खटिए पनि उनको ठेलामा मःम खान भने ११ बजेपछि मात्र पाइन्छ । बिहान आएर सबै काम ठेलाबाट गर्ने भएकाले पाक्दा ११ बज्ने उनी बताउँछन् । १ बजेसम्म ठीकै मात्रामा मःम बिक्री हुने भए पनि दुईदेखि लगभग साँझ ७  बजेपछि भने गौतमलाई भ्याइनभ्याइ नै हुने गरेको छ ।  

के भन्छन् उनका ग्राहक ? 

नाङ्लो मःम खाने धेरैले नाङ्लो मःम एकदमै मिठो हुने भएकोले आफू पटक–पटक नाङ्लो मःम खान पुतलीसडक आउने गरेको बताउँछिन् ऋतु रेग्मी । उनका अनुसार नाङ्लो मःम सस्तो र मिठो छ । धेरै ठाउँबाट मःमको अर्डर समेत आउने गरेको गौतम बताउँछन् ।

उनले प्रतिप्लेट १५० रुपैयाँसम्म मःम बेचेको सुनाए । स्कुल तथा कलेजका विद्यार्थीहरु मःम खान आउने उनको भनाइ छ । गौतमको जेठो छोरा मलेसियामा छन् भने उनी छोराले कमाएर पठाउने मासिक रकम आफूले मःम व्यापारबाटै कमाउनसकेकोमा उनी खुसी छन् । 

सबै चीज ताजा

आफूले मःममा प्रयोग गर्ने हरेक सामानहरु ताजा र सफा हुने बताएका गौतमले आफुले कुनै पनि कुरा बासी प्रयोग नगर्ने बताए । सबै सामान ताजा र ठेलामा नै आएर बनाउने भएकाले सबैले ताजा सफा र राम्रोमा विश्वास गरेको उनको भनाइ छ ।

आफूलाई कति सामान चाहिन्छ भन्ने कुरा थाहा हुने भएकाले बासी रहने गरी कहिल्यै समान तयार नगर्ने उनले बताए । बरु अलिकति कम होस् तर बासी रहने गरी नबनाउने गौतमको भनाइ छ । 

विदेश जानेलाई सुझाव 

लामो समयदेखि ठेला मःम खुवाउँदै आएका गौतमले वैदेशिक रोजगारी युवाहरुलाई स्वदेशमा नै व्यापार गर्ने सल्लाह दिन्छन् । भन्छन्, ‘मेरो सानो ठेला व्यापारबाट त म सन्तुष्ट छु, मेरो पाँच जनाको परिवार पाल्न कुनै समस्या छैन भने राम्रो गरी व्यापार गरे मनग्य कमाइ हुने भएकाले नेपालमै केहि गरेको राम्रो ।’ ४०÷ ५० हजारको लागि विदेश जानु नपर्ने उनको भनाइ छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै