• २०८१ बैशाख १४ शुक्रबार

आधुनिक मानवहरुको बसाइसराइबारे खुल्यो नयाँ रहस्य ! 

kharibot

अफ्रिका महादेशबाहिर पछिल्लोपटक फेला परेको मानवीय कंकालले पहिले पहिले सोचेभन्दा करिब १ लाख वर्षपहिल्यै आधुनिक मानिसहरुले त्यहाँबाट बसाइसराइ गरेको पुष्टि गरेको छ । उक्त कंकाल मानिसको मुखको माथिल्लोपट्टिको बंगारा पंक्तिको हो । यो इजरायलको थुप्रै प्रागैतिहासिक गुफामध्येको एउटामा फेला परेको हो । 

फेला परेको बंगाराको समय पहिल्याउने अध्ययनअनुसार यो बंगारा करिब १ लाख ७५ वर्षदेखि २ लाख वर्षसम्म पुरानो रहेको छ । पछिल्लो नयाँ तथ्यले अफ्रिकाबाट मानवीय बसाइसराइ आजभन्दा एक लाख वर्षपहिले नै भएको जानकारी दिन्छ । 

यो तथ्य पत्ता लाग्नुअघिसम्म अफ्रिकाबाहिर करिब ९० हजारदेखि १ लाख २० हजार वर्ष पुरानो आधुनिक मानव कंकाल फेरा परेको थियो । वैज्ञानिकहरुले पछिल्लो तथ्य फेला पर्नुले प्राचीन मानवहरुले निन्डर्थल्स र अन्य होमिनिन समूहसँग लामो समय प्रजनन सम्बन्ध बनाएको हुनसक्ने औँल्याएका छन् । 

उक्त कंकाल उत्तरी इजरायलस्थित पर्वतीय श्रृंखलामा पर्ने माउन्ट कार्मेलको मिस्लिया केभ (गुफा) भनिने क्षेत्रमा फेला परेको हो । न्युयोर्कमा रहेको स्टेट युनिभर्सिटी, बिंघमटनका मानवशास्त्री सहायक प्राध्यापक रोल्फ कुआमले मिस्लियामा फेला परेको नयाँ कंकाललाई चाखलाग्दो तथ्य भनेका छन् । उनका अनुसार यसलाई मानवपुर्खाको अफ्रिकाबाट अन्यत्र बसाइसराइ गर्ने चलन आफूहरुले सोचेभन्दा अघिको भएको कुराको स्पष्ट प्रमाण हो ।

साथसाथै, यसले निकै अघिदेखि नै आधुनिक मानवजातिहरुबीच भेटघाट र अन्तक्र्रिया लामो समयावधिदेखि आर्काइक समूहसँग भइरहेको र उनीहरुबीच सांस्कृतिक र शारीरिक सट्टापट्टा समेत भएको बुझ्नसकिन्छ । 

अध्येताहरुले उक्त फोसिल (कंकाल)लाई माइक्रो सीटी स्क्यानबाट परीक्षण गरेका छन् । जसलाई अन्य अफ्रिकी, युरोपेली र एसियाली होमिनिन समूहको कंकालसँग तुलनात्मक अध्ययन गरेका छन् । प्राध्यापक कुआमका अनुसार यी सबैबाट आधुनिक मानवजातिकै भन्ने पुष्टि भएको छ । जुन निनडर्थल्स र अन्य मानव समूहमा पाइने संरचनासँग मिलेको छ । 

उनका अनुसार मिस्लियामा भेटिएको कंकालको संरचना जुन केवल आधुनिक मानवजातिसँग मात्र मिल्छ, को पहिचान गर्नु हो ।  पुरातात्विक प्रमाणले के देखाउँछ भने मिस्लियाबासीहरु शिकार गर्न, आगो पार्न सक्षम रहेका थिए । जुन प्रारम्भिक मध्य पालियोलिथिक स्टोन टुल किटबारे जानकार रहेको र अफ्रिकाका प्राग् आधुनिक मानवसँग मिल्दोजुल्दो रहेको देखिन्छ ।  

कंकालअनुसार आधुनिक मानवजातिसँग मिल्दोजुल्दो दन्तपंक्ति रहेको छ । तत्कालीन अवस्थाका कंकालहरु मानवसँग मिल्ने प्राणीको नै भएको बताइएको छ । यद्यपि मिस्लिया १ मा निनडर्थल्स र सर्वप्राचीन होमिनिन प्रजातिका युनिक संरचना भने भेटिँदैन । जस्तै साना र फराकिलो दन्तलहर । 

मिस्लिया १ को नजिकै भेटिएका स्टोन टुल्सहरु लेभालोइस टेक्निक (तरिका)मा आकारित छन् । यी सबैका बाबजुद मानवजातिले कहिले र कसरी अफ्रिकाबाट बसाइसराइ गरे भन्नेचाहिँ अझै पनि अध्ययनकै विषय रहेको छ ।

तर मध्यपूर्वको कंकाल भेटिएको उक्त क्षेत्रचाहिँ प्लेइस्टोसिनका बेला होमिनिन बसाइसराइको मुख्य करिडोर रहेको र आधुनिक मानवजाति र निनडर्थल्स दुवैले फरक समयमा त्यस क्षेत्र प्रयोग गरेको भने यसले देखाउँछ ।  प्राध्यापक कुआमका अनुसार नयाँ तथ्यले स्थानीय जनसंख्यासँग पुख्र्यौली मिश्रण आदि विभिन्न जिज्ञासाबारे खोजीका अवसर भने सिर्जना गरेको छ । जसअनुसार अफ्रिकाबाट २ लाख २० हजार वर्षअघि नै बसाइसराइको चलन भएको मानिएको छ ।

त्यस्तै एसियामा पत्ता लागेका धेरै पुरातात्विक र मानव कंकालहरुले पनि आधुनिक मानवको आवादित क्षेत्र, बसाइसराइ जस्ता कुराहरु धेरै अघिदेखि भएको कुरालाई नै मलजल पुर्याउने गरेको छ ।  

(यो अध्ययन साइन्स म्यागजिनमा प्रकाशित भएको थियो ।)
 

थप  

मान्छेको बसाइसराइबारे हामीलाई के थाहा छ ?

परम्परागत दृष्टिकोण : परम्परागत रुपमा आधुनिक मानवहरुको विकास अफ्रिकामा भएको र ६० हजार वर्षअघि उनीहरुले अफ्रिका छोडेको विश्वास गरिन्छ । जब निनडर्थल्स प्रजाति जुन ४० हजार वर्षअघि पूरै प्रजातिको लोप भएको थियो, सँग प्रजनन सम्बन्ध स्थापित बन्यो, त्यसपछि आधुनिक मानव प्रजातिले अफ्रिका छोडेका थिए ।

अहिले पनि कतिपय युरोपेली र एसियाली मानिसमा प्राचीन मानव जातिको डीएनए पाइन्छ । निनडर्थल्स प्रजातिको पतन र विनाशबारे धेरैथरिका धेरैथरि कुराहरु यसबारे आउँछन् । कसैले ठूलो रोगलाई यसको कारण मान्छन् भने कसैले जलवायु परिवर्तनलाई । कसै कसैले मानिसहरुले नै निनडर्थल्स प्रजातिको विनाश गरेको हुनसक्ने बताउँछन् । 

नयाँ अध्ययन, नयाँ कुरा 

यसअघिका नयाँ भनिएका तथ्यहरु पनि जब जब नयाँ कुराहरु फेला पर्दै जान्छन्, ती सबै पुराना हुँदै जान्छन् । यसअघि ६० हजार वर्षअघि बसाइसराइ भएको भनिएकोमा अब १ लाख २० हजार वर्षअघि भएको नयाँ तथ्य आएको छ । उदाहरणका लागि होमोस्यापिएन्स दक्षिणी र मध्यचीनका धेरै स्थानमा रहेको पाइएको थियो, जसको समयावधि आजभन्दा ७० हजार देखि १ लाख २० हजार वर्षपहिलेको मानिएको छ ।

त्यस्तै नयाँ तथ्यहरुले आधुनिक मानवहरु दक्षिणपूर्वी एसियार अस्ट्रेलियामा ६० हजार वर्षअघि नै पुगेको मानिएको छ । यसले अफ्रिकाबाट मात्रै मानिसहरु विश्वका कुना कुना पुगेको नभई पृथ्वीका विभिन्न क्षेत्रमा आधुनिक मानवहरु विकसित भएको मानिएको छ ।

अर्को भनाइ के पनि छ भने प्रागैतिहासिक मानवपुर्खाले अफ्रिकाबाट युरोप र मध्यपूर्व पुगेको र त्यहाँबाट आधुनिक मानव बनेर थुप्रै स्थानमा फैलिएको मानिएको छ । नयाँ विश्लेषणअनुसार २ लाख ६० हजार वर्षपुरानो मानव कंकाल चीनको शान्जी प्रान्तको डाली गाउँमा फेला परेको थियो ।

उक्त कंकालले प्राचीन मानवहरु एसिया बसाइसराइ गरेको पुष्टि हुन्छ । तर जब उनीहरु आधुनिक बने, पुनः अफ्रिका आएको समेत मानिन्छ ।  

डेली मेलबाट अनुदित

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै