• २०८१ बैशाख ८ शनिबार

दक्ष चिकित्सकबाट पाँच रुपैयाँमै स्वास्थ्य सेवा !

kharibot

बारा । बाराको उदयीमान बजार सिमरामा पाँच रुपैयाँ शुल्कमा दक्ष चिकीत्सकबाट उपचार हुन थालेको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रले प्रती व्यक्ती पाँच रुपैयाँमा दक्ष चिकीत्सकबाट उपचार थालेको हो ।

नागरिकको अधिकार सुलभ उपचार भन्दै पिएचसीले दक्ष चिकीत्सकबाट उपचार थालेपछि नजिकै रहेका निजी अस्पतालहरुको बिरामीहरु समेत सिमरा पि.एच.सीमा आउन थालेका छन् ।

सरकारी स्वामीत्वको केन्द्रमा अपनत्व बढोस् भनेर सभ्य संकेत गर्दै व्यवस्थापन समितिले पाँच रुपैयाँ शुल्क तोकेको हो । जटील र असाध्यै रोगका बिरामी बाहेक अन्य सेवाग्राहीले केन्द्रमा सेवा लिन उपस्थिती बाक्लो बनाए पछि निजी अस्पतालहरुले समेत शुल्क घटाउँन थालेका छन् ।

सेवा केन्द्रमा कार्यरत चिकित्सकको क्षमता बराबरको निजी अस्पतालका डाक्टरका उपचार गराउदा तीन सय देखी पाँच सयसम्म प्रती व्यक्ति शुल्क र  औषधी समेत खरिद गर्नुपर्ने भए पछि दर्जनौं बिरामीहरुको पाँच रुपैयाँ शुल्क रहेको केन्द्र चयनमा पर्न थालेको हो । केन्द्रले बृद्धबृद्धा , दलित , असक्त , विद्यार्थी लगायतलाई पाँच रुपैयाँ समेत नि:शुल्क गरेको त्यहाँ कार्यरत डा.श्रवण कुमार मण्डलले बताएका छन् । 

केन्द्रमा सरकारले उपलव्ध गराएको ५८ प्रकारका औषधी नि:शुल्क र ४८ प्रकारका ल्याब परिक्षण निजी अस्पताल भन्दा ५० प्रतीशत सस्तो दरमा परिक्षण भएपछि ग्रामीण क्षेत्र मात्र नभई बजारका सामान्यदेखि सम्पन्न वर्गका मानिसहरुले समेत ‘हाम्रो अस्पताल राम्रो’ भन्दै सेवा लिन थालेका छन् ।

केही वर्ष अघि गरिब, मजदुर जाने अस्पताल भनेर ब्याख्या हुँने सिमरा पि.एच.सी अहिले समाजका सबै वर्गको रोजाईमा परेको छ ।

स्थानीय युवा कृष्ण सिक्देलले आँफु र परिवारका सदस्यको नियमित स्वास्थ्य परिक्षण केन्द्रमा गर्ने गरेका छन् । दक्ष चिकीत्सक र सस्तोमा उहि उपचार पाउँने भए केन्द्र प्रती आफ्नो मोह बढेको बताउँदै सिक्देल भन्छन्–“अझ यसको प्रचार ग्रामिण बस्तिहरुमा पुगे एउटा वर्गको ठुलो समँुहलाई राहत मिल्ने छ ।”

तीन जना एमबिबिएस, एक जना हेल्थ असिष्टेन्ट , तीन जना सिएमए, एक जना स्टाफ नर्स, तीन जना अनमी, एक जना फार्मेसी असिष्टेन्ट, एक जना ल्याब असिष्टेन्ट र केही कार्यालय सहयोगीको समुँहले जाडोमा दैनिक ६० देखि ७० र गर्मी महिनामा १५० जनासम्म बिमारीलाई उपचार गर्ने गरेको केन्द्रका डा.मण्डलले बताएका छन् ।

दुई वर्ष अघ सम्म थला परेको केन्द्रमा मनै देखि काम गर्ने ईच्छा बोकेर आएका एक जुझारु डाक्टर श्रवण कुमार मण्डललको प्रयास पछि प्रार्थमिक स्वास्थ्य केन्द्रले अस्पतालको स्वरुप पाएको स्थानीय सेवाग्राही गीता कँडेल भन्छिन– “सिमरा पि.एच.सीले धेरै डाक्टर पायो आएका धेरै जसो जागिर खान मात्र आउँथे , अवधि सकिए पछि चुपचाप जान्थे, स्वास्थ्य केन्द्रमा डाक्टर आएको गएको आभास हुँदैन थियो । तर, मण्डलले साँच्चै आफ्नों काम प्रति जिम्मेवार भएर मिहिनेत गर्ने हो भने परिवर्तन सम्भव छ भन्ने उदाहरण दिएका छन् ।”

मण्डलले बिरामी जाँच्ने काम मात्र गरेनन् केन्द्र्र टेक्ने बित्तिकै समाजका अगुवा , राजनैतीक दलका प्रतिनिधि, विभिन्न संघ संस्थासंगको समन्वयलाई तिब्रता दिदै सरकारी निकायको समेत सहयोग लिएर स्वास्थ्य केन्द्रको पूरै प्रणालीमा नैं सुधार ल्याएको स्थानीय सेवाग्राहीहरु बताउँ छन् । उनको प्रयास पछि स्थानीय विभिन्न संघ संस्थाहरुले स्वास्थ्य उपकरणहरु समेत सहयोग उपलव्ध गराएका छन् । अझै गराउँने क्रममा रहेको जनाईएको छ ।

मण्डल जस्तै अन्य दुई जना डाक्टर र स्वास्थ्यकर्मीहरुले पनि प्रशंसा योग्य शैली अपनाए पछि  सिमरा पि.एच.सीले सामान्य बिमारीमा पनि ठुला अस्पताल धाउँने परम्परा कमी ल्याउन सफल हुँदै गएको प्रती मण्डलले खुशी व्यक्त गर्छन् ।

बारामा रहेको पाँच वटा प्रार्थमिक स्वास्थ्य केन्द्र मध्ये सिमरा डाक्टर स्वास्थ्यकर्मीहरुको मेहनत र लगनशिलताले उत्कृष्ट बनेको जिल्ला जनस्वास्थय कार्यालयले समेत जनाएको छ ।

बिगतमा स्वास्थ्य केन्द्रमा न उपचार हुन्थ्यो न त विश्वास तर, पछिल्लो समय बिरगंज, चितवन जाने बिमारीहरुले समते सिमरा पि.एच.सीमा पहिलो परार्मश गर्न थाले पछि सेवा प्रतीको उचाई बढेको देखिन्छ ।

अब २४ सै घण्टा सेवा सुविधा प्रवाह गर्न स्थानीय निकायको पहल थाल्न जनस्तरमा माँग बढन थालेको छ । सरकारी सयन्त्र बाहेक पनि पि.एच.सीमा जनस्तरको चाँसो बढदै जाँदा स्थानीय तहले समेत सिमरा पि.एच.सीमा ध्यान बढाएको छ ।

अहिले स्वास्थ्य केन्द्रको आवरण नैं फेरिएको स्वास्थ्यकर्मी र कर्मचारी बिच सहज सम्वादको वातावरण बन्दै गए पछि दैनिक सेवा प्रवाहको काम समेत छरितो सहज बनेको देख्न सकिन्छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै