• २०८१ बैशाख ६ बिहीबार

संस्कृत नरहे संस्कृति बच्दैन : शताब्दी पुरुष सत्यमोहन

kharibot

काठमाडौँ / नेपाली भाषाको नाटकमा रसस्वादन गरिरहेका दर्शक संस्कृत भाषाको नाटकमा पनि त्यत्तिकै मोहित बन्न थालेका छन् । 

सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक मञ्चित ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक प्रदर्शनका क्रममा दर्शकले जीवन्त संस्कृत भाषाको नाटक हेर्ने मौका पाएका हुन् । 

श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं –४ का विद्यार्थीले सो शीर्षकको नाटक यही माघ सात देखि ९ गते प्रदर्शन गरेका हुन् । गुरुकुल सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन सामाजिक विषय वस्तुमा आधारित नाटक प्रदर्शन गरिएको अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले जानकारी दिए । 

नाटक प्रदर्शनबाट खर्च कटाएर रु एक लाख बचत भएको उनले बताए । यो रकम माध्यमिक तह सञ्चालनको अनुमति पाएको गुरुकुलका ५० बटुकको आवासीय सुविधा सहितको अध्ययन अध्यापनमा लगानी गरिने जनाइएको छ । 

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले संस्कृत भाषा नरहे नेपाली संस्कृति पनि लोप हुँदै जाने बताए  । “लिच्छविकालका संस्कृतका धेरै शिलालेख अहिले पनि सुरक्षित छन्, कति शिलालेख र बहुमूल्य ग्रन्थ संग्रहालयमा पनि राखिएको छ”– उनले भने । 

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले संस्कृत भाषालाई आधुनिक ढंगले अध्यापन गराउन लागिएको जानकारी दिए । 

“जडीबुटी, आयुर्वेद, योगलगायतका विषयबाट संस्कृतमा रहेको ज्ञानलाई आधुनिक शिक्षामा रुपान्तरण गर्ने प्रयास विश्वविद्यालयले गरेको छ, संस्कृत प्राचीन र आधुनिक, ज्ञान एवं विज्ञान दुवैलाई जोड्ने कडी बन्नुपर्छ” उनले भने । 

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपालले नगरअन्तर्गतका सबै विद्यालयमा अनिवार्य संस्कृत अध्ययन अध्यापनको व्यवस्था मिलाउन लागिएको जानकारी गराए । यसका लागि नगर कार्यपालिकाअन्तर्गतको शिक्षा समितिले विशेष गृहकार्य गरेको छ । 

गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने बताए । पूर्व सचिव कृष्ण ज्ञवाली, पत्रकार कमल रिजाललगायतले संस्कृतको संरक्षणका लागि नाटक प्रदर्शनले पनि सहयोग मिल्ने जानकारी दिए । 

गुरुकुलले यसअघि विसं २०७१ चैतमा वाल्मीकि विद्यापीठको चौरमा बाँसले तयार पारिएको विशेष रंगमञ्चमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएकामा दर्शकको सहभागिता बढेपछि यसपटक रंगमञ्चमै संस्कृत नाटक देखाइएको जानकारी दिइयो । 

नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व तोयनाथ पाण्डेयले लेखेका हुन् । निर्देशक डा घनश्याम खतिवडाले सो नाटकको निर्देशन गरेका थिए । 

विसं २०१३ मा शुद्रकले लेख्नुभएको ‘मुद्राराक्षसम्’ शीर्षकको संस्कृत नाटक पनि प्रदर्शन गरिएको थियो । २०१६ सालमा भारतीय राष्ट्रपति राजेन्द्रप्रसाद नेपाल भ्रमणमा आउनुहुँदा ‘मुद्राराक्षसम्’ पुनः प्रदर्शन गरिनुका साथै ‘विश्वामित्र’ पनि देखाइएको प्रा डा पोखरेलले बताए । 

“राजा हुञ्जेल नारायणहिटी राजदरबारमै गएर नाटक प्रदर्शन गरिन्थ्यो, महेन्द्रका पालामा कालीदासले लेख्नुभएको मैले पनि खेलेको संस्कृत नाटक ‘स्वप्नवासदत्ता’ प्रदर्शन गरिएको थियो”– उनले भने । 

पछिल्लो समय निजी विद्यालयमा पनि संस्कृत भाषा अध्यापन शुरु भएकाले नाटक हेर्न आउने दर्शकको संख्या बढेको हो । रु १०० देखि रु एक हजारसम्मको टिकट लिएर नाटक हेर्न निजी अंग्रेजी विद्यालयमा अध्ययनरत साना विद्याथी पनि आकर्षित भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै