• २०८१ बैशाख ४ मंगलबार

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउमा विहानैदेखि वर्षा र हिमपात

kharibot

काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी परेको छ । 

जल तथा मौसम विज्ञान विभागले अफगानिस्तान, पाकिस्तान र भारत हुदै पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेको जानकारी दिदै आज दिनभर देशभरीकै मौसम बद्ली भई वर्षा सक्रिय हुने जनाएको छ । 

साथै वर्षा विहिबारसम्म कायम रहनसक्ने र हिमाली भेगमा हिमपात हुने पूर्वानुमान विभागले गरेको छ ।  आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा वर्षा सक्रिय हुने भएको छ ।

यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात सुरू भएको छ। यस वर्षको हिउँद लागेपछि पहिलो पटक पानी परेको हो ।

चिसो बढेसँगै गएरातीदेखि उत्तरी गोरखा, मनाङ लगायतका पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ भने दक्षिणी भेग सदरमुकाम आसपास क्षेत्रमा पनि बर्षा भएको छ। 

मनाङमा भारी हिमपात, १० जना विदेशी पर्यटक सम्पर्कविहीन

मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । 

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । 

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । 

गोरखामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । 

मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताए । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । 

“हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उनले भने, “हिउँ परिरहेको छ । एक फिट जति हिउँ जमिसक्यो ।” यो वर्ष पहिलो पटक आज हिमपात भएको हो । टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही भने खुशी पनि छन् । 

गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन् । लाप्राकीहरु अधिकांश भने पुरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन् । पुरानो गाउँमा पनि हिमपात भएको स्थानीयवासी तुले गुरुङले बताए । 

हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन् । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । टहरोभित्र आगो तापेर भूकम्प प्रभावितहरु बसेका छन् । 

रसुवा विहानैदेखि हिमपात :

बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको छ ।  चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको छ । 

गत वर्ष भने फागुनमा मात्र हिमपात भएको र यस वर्ष माघको दोस्रो साताबाटै हिमपात र पानी परेपछि हिउँदे बाली राम्रो हुनेमा स्थानीयवासी उत्साहित भएका छन् । 

हुम्लामा बाक्लो हिमपात :

गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ । 

जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन् । 

भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै