काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउमा विहानैदेखि वर्षा र हिमपात

खरीबोट

काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी परेको छ । 

जल तथा मौसम विज्ञान विभागले अफगानिस्तान, पाकिस्तान र भारत हुदै पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेको जानकारी दिदै आज दिनभर देशभरीकै मौसम बद्ली भई वर्षा सक्रिय हुने जनाएको छ । 

साथै वर्षा विहिबारसम्म कायम रहनसक्ने र हिमाली भेगमा हिमपात हुने पूर्वानुमान विभागले गरेको छ ।  आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा वर्षा सक्रिय हुने भएको छ ।

यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात सुरू भएको छ। यस वर्षको हिउँद लागेपछि पहिलो पटक पानी परेको हो ।

चिसो बढेसँगै गएरातीदेखि उत्तरी गोरखा, मनाङ लगायतका पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ भने दक्षिणी भेग सदरमुकाम आसपास क्षेत्रमा पनि बर्षा भएको छ। 

मनाङमा भारी हिमपात, १० जना विदेशी पर्यटक सम्पर्कविहीन

मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । 

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । 

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । 

गोरखामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । 

मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताए । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । 

“हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उनले भने, “हिउँ परिरहेको छ । एक फिट जति हिउँ जमिसक्यो ।” यो वर्ष पहिलो पटक आज हिमपात भएको हो । टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही भने खुशी पनि छन् । 

गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन् । लाप्राकीहरु अधिकांश भने पुरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन् । पुरानो गाउँमा पनि हिमपात भएको स्थानीयवासी तुले गुरुङले बताए । 

हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन् । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । टहरोभित्र आगो तापेर भूकम्प प्रभावितहरु बसेका छन् । 

रसुवा विहानैदेखि हिमपात :

बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको छ ।  चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको छ । 

गत वर्ष भने फागुनमा मात्र हिमपात भएको र यस वर्ष माघको दोस्रो साताबाटै हिमपात र पानी परेपछि हिउँदे बाली राम्रो हुनेमा स्थानीयवासी उत्साहित भएका छन् । 

हुम्लामा बाक्लो हिमपात :

गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ । 

जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन् । 

भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् । 


 

सम्बन्धित समाचार

मुलुकभर अझै केही दिन वर्षा हुने, बुधबारदेखि मौसममा क्रमिक सुधार आउने

काठमाडौँ । अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष

गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

काठमाडौँ। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले रु ४० लाखभन्दा

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

जुफाल, डोल्पा।  केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् ।  झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ। आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी