• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभाका लागि वाम गठबन्धन र मधेशी गठबन्धनबीच तालमेल असफल 

kharibot

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धन र मधेशी गठबन्धनबीच तालमेल गर्ने विषय असफल भएको छ ।

मधेशी गठबन्धनमा आबद्ध राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन गर्ने प्रतिबद्धता माग गरेपछि राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति हुन नसकेको हो।

संविधान संशोधन गर्नुपर्ने प्रस्तावका कारण राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति जुटाउन सक्ने अवस्था नदेखिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएकाछन् ।

वाम गठबन्धनले प्रदेश नम्बर २ मा सरकार बनाउन समेत सहकार्य हुने गरी राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव मधेशी गठबन्धनसँग मंगलबार बिहान नै राखेको थियो । त्यसपछि, बसेको बैठकमा मधेशी गठबन्धनले संविधान संशोधन गर्ने प्रतिबद्धता माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

यता, मधेशी गठबन्धनका नेता वृशेषचन्द्र लालले राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्न वाम गठबन्धनबाट प्रतिबद्धता आउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

भोलि बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन हुने कार्यसूची छ । बैठकमा वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरूले संविधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुने स्पष्ट पारेका थिए।

बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी भएका थिए भने राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी भएका  थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै