• २०८१ बैशाख ४ मंगलबार

दोस्रो किस्ताका लागि प्रमाणिकरण भएका लाभग्राहीको संख्या २ लाख नाघ्यो

kharibot

काठमाडौं भूकम्प अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या २ लाख नाघेको छ ।

शहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको मंगलबार अपरान्ह ४ बजेसम्मको तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको संख्या २ लाख ४ हजार ९ सय ९३ पुगेको हो । 

२०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा यही पुस मसान्तसम्म तोकिएको पृष्ठभूमिमा दोस्रो किस्ताका लागि योग्य लाभग्राहीको संख्या उल्लेखनीय रुपमा बढेको हो । यो तथ्यांकले पछिल्लो समय निजी आवास पुर्ननिर्माण तीव्र रुपमा भइरहेको देखाएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसाल भन्छन् , ‘भूकम्पप्रभावित जिल्लाका स्थानीय तहमा इञ्जिनियर, प्राविधिक खटिएका तथा दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण पनि निजी आवास पुनर्निर्माणले गति लिएको हो ।’

दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३ सय ८८ लाभग्राही छन् भने सबैभन्दा कम भक्तपुरका १ हजार ९ सय २१ लाभग्राही छन् । 
पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार घरको जग राखेपछि पुर्निर्माणका लागि प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् । कम प्रभावित १७ जिल्लाका दोस्रो किस्ताका लागि लाभग्राहीको लगत संकलन भइरहेको छ । 

त्यस्तै, शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार अति प्रभावित १४ जिल्लामा पुनर्निर्माण सम्पन्न भएका र निर्माणाधीन घरको कूल संख्या ३ लाख ६० हजार ४ सय ७८ पुगेको छ । तथ्यांकअनुसार निर्माण सम्पन्न भएका घरको संख्या ९० हजार २ सय ६२ छ भने निर्माणाधीन घरको संख्या २ लाख ७० हजार २ सय १६ छ । 

प्राधिकरणको सुचना प्रणालीमा दर्ता भएको तथ्याङ्क अनुसार धादिङमा सवैभन्दा धेरै १८ हजार ९ सय ४० घर पुननिर्माण भएका छन् भने सबैभन्दा कम भक्तपुरमा ३ सय ६२ छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै