• २०८१ बैशाख १२ बुधबार

संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

kharibot

फाइल फोटो ।

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् । 

पद्मकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताए । 

‘हिजोमात्र प्रदेशसभाका सदस्यले शपथ ग्रहण गर्नुभएको छ, उक्त समारोहसँगै मुलुक एकात्मक केन्द्रीय शासनबाट संघीयतामा प्रवेश गरेको छ, अब मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ’– उनले भने । 

नेता सिंहले एकतन्त्रीय राणा शासनको समयमा महिला शिक्षाका लागि स्व मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । सोही क्षेत्रका सांसदसमेत रहेका सिंहले सामुदायिक विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालय सुधारका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताए । ‘लामो इतिहास बोकेको विद्यालयको विकासका लागि महानगरले विशेष सहयोग गर्छ,’– उनले भने । 

सो कार्यक्रममा नेता सिंहले २५ वर्षदेखि सो विद्यालयमा सेवा गरेका कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । काठमाडौँको डिल्लीबजारमा अवस्थित उक्त विद्यालय विसं २००४ मा स्थापना भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै