• २०८१ बैशाख ८ शनिबार

सातै प्रदेशमा मुख्यमन्त्रीको दौडधूप सुरु, को-को छन् अगाडि ?

kharibot

काठमाडौँ ।  प्रदेशतर्फका सांसदहरुले शपथ ग्रहण गरेपछि अब प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने चर्चा शुरु भएको छ । 

सात प्रदेश मध्ये ६ प्रदेशमा एमाले-माओवादी गठबन्धनको बहुमत रहेको छ भने प्रदेश नम्बर २ मा राजपा र संघीय फोरमले सरकार बनाउने तयारी गरेका छन् । नेपाली काँग्रेसको भने प्रदेश नम्बर २ मा राजपा र फोरमसँग मिलेर सरकार बनाउने सम्भावना देखिए पनि अन्य ६ प्रदेशमा भने प्रतिपक्षमै हुने तय भएको छ । 

संघीय संरचना अनुसार पहिलो पटक प्रदेश सरकारको पनि गठनको तयारी तिब्र भएको छ । प्रदेश प्रमुखको नियुक्ति र सांसदहरुको शपथ पछि अब प्रदेश सरकारको गठनका लागि तयारी सुरु भएको छ । 

यसैबीच प्रदेश सरकारमा मुख्यमन्त्री बन्ने विषयले पनि चर्चा पाउन थालेको छ । प्रत्यक्ष तर्फको मतपरिणाम हेर्दा प्रदेश नम्बर २ बाहेक अन्य सबै प्रदेशमा बाम गठबन्धन बहुमतसहित सरकार बन्दै छ ।  

एमाले र माओवादीबीच पटक पटक भएका छलफलमा एमालेले ४ र माओवादी केन्द्रले २ प्रदेशमा मुख्यमन्त्री बनाउने रिपोर्टहरु बाहिर आएपनि यसको आधिकारिक निर्णय भने भएको छैन । 

कुन प्रदेशको कसले नेतृत्व गर्ने भन्ने औपचारिक निर्णय नभए पनि एक आपसमा आ-आफ्नो दाबेदारी भने धेरैले पेश गरेका छन् । 

प्रदेश नम्बर १ :

प्रदेश नम्बर १ मा कुल प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट जित्दै कुल ५१ सिट जितेको छ । यस प्रदेशमा एमाले एक्लै बहुमतमा रहेकाले एमालेकै मुख्यमन्त्री हुन् निश्चित रहेको छ । प्रदेश १ मा पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री शेरधन राई मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडी रहेका छन् । भोजपुरबाट प्रदेश सभामा निर्वाचित राई यसअघि सूचना तथा संचार मन्त्री बनिसकेका छन् । 

साथै एमालेका सचिव भिम आचार्य र पार्टी पदाधिकारी नै भएकाले सचिव आचार्य स्वत: र बलिया दाबेदार छन् । तर राई–लिम्बूलगायतको जनमत बढी भएको यस प्रदेशमा राईनै मुख्यमन्त्री बन्ने चर्चा छ । राईले आफ्नो दाबेदारी प्रस्तुत गर्दै प्रदेश मुख्यमन्त्रीको तयारीसमेत थालिसकेको बताएका छन् । 

प्रदेश नम्बर २ :

प्रदेश २ मा प्रत्यक्षतर्फ ६४ र समानुपातिक तर्फ ४३ गरी कुल १०७ प्रदेश सांसद रहेका छन् । जसमा राजपा र संघीय फोरमको गठबन्धनले प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ १९ सिट जितेर बहुमत बहुमतको नजिक रहेका छन् । 

यस प्रदेशमा राजपा र फोरमबाट नै मुख्यमन्त्री बन्ने भएपनि केन्द्रमा बन्ने एमाले-माओवादी सरकारमा राजपा र फोरम जाने नजाने आधारमा नै यस प्रदेशको गठबन्धन टुंगो लाग्ने देखिएको छ । अहिलेसम्म यस प्रदेशमा राजपा, फोरम र काँग्रेस मिलेर सरकार बनाउने तयारी देखिएपनि केन्द्रको गठबन्धन अनुसारनै टुंगो लाग्ने देखिएको छ । यद्यपी प्रदेश प्रमुखमा काँग्रेससंगको भागबन्डा गरेका राजपा र फोरमले यस प्रदेशमा काँग्रेससँग नै सहकार्य गर्ने निश्चित प्राय:रहेको छ । यस प्रदेशमा काँग्रेसले प्रत्यक्षमा ८ र समानुपातिकमा ११ गरी कुल १९ सिट जितेको छ ।

यस प्रदेशमा मुख्यमन्त्रीको दौडमा सबैभन्दा अगाडी मधेसी गठबन्धनबाट राजपाका महामन्त्री मनिष सुमन, जितेन्द्र सोनल र लालबाबु राउत रहेका छन् । यद्यपी बाहिरको प्रभाव राजपा र फोरममा विगतमा देखिएकाले को मुख्यमन्त्री बन्छ भनेर भनिहाल्ने स्थिति भने अझै प्रष्ट भएको छैन ।

प्रदेश नम्बर ३ :  

प्रदेश नम्बर ३ मा कुल ११० प्रदेश सांसद रहेका छन् । जसमा प्रत्यक्ष तर्फ ६६ र समानुपातिक तर्फ ४४ सांसद रहेकाछन् । यस प्रदेशमा एमालेले प्रत्यक्षमा ४२ र समानुपातिकमा १६ गरी कुल ६० सिट जित्दै एक्लै बहुमत ल्याएको छ । 

त्यसैले यस प्रदेशमा एमालेबाट नै मुख्यमन्त्री बन्ने निश्चित रहेको छ । मुख्यमन्त्रीको दौडमा यस प्रदेशमा सबैभन्दा अगाडी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेकी छन् । त्यस्तै पोलिटब्यूरो सदस्यहरु राजेन्द्र पाण्डे र पशुपति चौलागार्इं पनि मुख्य दाबेदारको रुपमा रहेका छन् । 

एमाले नेताहरु महिला र पार्टीको वरिष्ठ नेता भएकाले अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने निश्चित प्राय: रहेको बताउछन् । त्यस्तै प्रदेश ३ मा नेवार समुदायको बाहुल्य छ । प्रदेशमा माथिल्लो तहका महिला दाबेदार नरहेकाले समावेशी बनाउन एक महिला मुख्यमन्त्री बनाउनुपर्ने दबाब पनि एमाले भित्र देखिएको छ । 

प्रदेश नम्बर ४ : 

प्रदेश नम्बर ४ मा कुल ६० प्रदेश सांसद रहेका छन् ।  जसमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सांसद रहेका छन् । यस प्रदेशमा एमाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० गरी कुल २५ सिट जितेको छ भने, माओवादी केन्द्रले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी कुल १२ सिट जितेको छ । यस प्रदेशमा एक पार्टीको बहुमत नभएपनि एमाले-माओवादी गठबन्धनको सरकार बन्ने निश्चित रहेको छ । एमाले-माओवादीको गरी कुल ३७ सिट हुने हुदा सरकार बनाउन आवश्यक बहुमत पुग्ने देखिन्छ । 

यस प्रदेशमा एमालेका पार्टी सचिव पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीक ओदौद्मा सबैभन्दा अगाडी रहेका छन् । तर स्थायी समिति सदस्य किरण गुरुङ पनि अहिले प्रमुख दाबेदारको रुपमा अगाडी आएका छन् । पार्टी सचिव भएकाले सचिव गुरुङको दाबेदारी शसक्त देखिएपनि पार्टी अध्यक्ष केपी ओलीले गुरुङलाई मुख्यमन्त्री बनाउन लागेको एमालेभित्र चर्चा चलेको छ । 

प्रदेश नम्बर ५ :

प्रदेश नम्बर ५ मा प्रत्यक्ष तर्फ ५२ र समानुपातिकमा ३५ सिट सहित कुल ८७ प्रदेश सांसद रहेका छन् । जसमा एमालेले प्रदेशको प्रत्यक्षतर्फ २८ र समानुपातिकमा १३ गरी कुल ४१ सिटमा जित हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले यस प्रदेशमा प्रत्यक्षतर्फ १५ र समानुपातिकमा ६ सिट गरी कुल २१ सिटमा जित हासिल गरेको छ । कुल ८७ सिटमा बाम गठबन्धनले ६२ सिट सहित यस प्रदेश सरकार बन्ने निश्चित देखिएको छ । 

यस क्षेत्रमा एमाले स्थाई समिति सदस्य शंकर पोख्रेलको एकल दाबेदारी देखिएको छ । केन्द्रिय संसदमा दाङबाट कृष्णबहादुर महरालाई छोडेर मुख्यमन्त्री बनाउने शर्तमा प्रदेश सभामा आएका पोख्रेल प्रदेश ५ को मुख्यमन्त्री बन्ने लगभग तय नै देखिन्छ । आइतबार शपथ ग्रहण पछि बसेको एमाले प्रदेश सांसदहरुको संसदीय दलको बैठकले पोखरेललाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेपछि पोखरेल प्रदेश नम्बर ५ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

प्रदेश नम्बर ६ :

प्रदेश नम्बर ६ मा कुल ४० प्रदेश सांसद रहेका छन् । जसमा प्रत्यक्ष तर्फ २४ र समानुपातिक तर्फ १६ सांसद रहेका छन् । यस प्रदेशमा एमालेले प्रत्यक्षमा १४ र समानुपातिकतर्फ ६ गरी कुल २० सिट जितेको छ भने, माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी कुल १३ सिट जितेको छ । 

एमाले र माओवादीको अनौपचारिक छलफलमा प्रदेश ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई दिने रिपोर्ट बाहिर आएको भएपनि यसबारे औपचारिक निर्णय अझै भएको छैन । यस प्रदेशमा माओवादीका नेताहरुले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।  माओवादीका नेताहरु कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीले आफ्नो दाबेदारी पेश गरेका छन् । यद्यपि एमालेका नेताहरु यमलाल कंडेल र प्रकाश ज्वाला पनि मुख्यमन्त्रीको दाबेदारको रुपमा अगाडी आएका छन् ।

यस प्रदेशमा माओवादीले सजिलै मुख्यमन्त्री पाउने सम्भावना देखिदैन । एमालेको सिट संख्या धेरै भएकाले पनि माओवादीको दाबी अलि तर्कसंगत नहुने एमाले नेताहरुले बताएका छन् ।

प्रदेश नम्बर ७ : 

प्रदेश नम्बर ७ मा कुल ५३ प्रदेश सांसद रहेका छन् ।  जसमा प्रत्यक्ष तर्फ ३२ र समानुपातिक तर्फ २१ सांसद छन् । यस प्रदेशमा एमालेले प्रत्यक्षमा १७ र समानुपातिकमा ८ गरी कुल २५ सिट जितेको छ भने माओवादीले प्रत्यक्षमा १० र समानुपातिकमा ४ गरी कुल १४ सिट जितेको छ । यसरी यस प्रदेशमा गठबन्धनको कुल ३९ सिट रहेको छ ।

यस प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्ने लगभग तय देखिएको भएपनि वाम गठबन्धनमा औपचारिक निर्णय भने भएको छैन । यस प्रदेशमा माओवादीबाट वीरमान चौधरी, झपट बोहरा सम्भावित मुख्यमन्त्रीको रुपमा अगाडी आएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै