• २०८१ बैशाख ८ शनिबार

फर्निचर व्यवसायीको हत्यामा संलग्न दुई पक्राउ

kharibot

बुटवल । रुपन्देहीको देवदह नगरपालिका–३ खैरेनीका फर्निचर व्यवसायी ४३ वर्षीय ‘बलु’ भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ परेका उनीहरु बलुको हत्या योजनाकार मनोज पुनका सहयोगी रहेको आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पौडेलको हत्या भएको दुई सातापछि नवलपरासीको सुनवल नगरपालिका–७, अस्नौयाका ३६ वर्षीय पदम चौधरी र सुनसरी डुमरहा–५ का ‘महेन्द्र’ भनिने महिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । घटनाका मुख्य योजनाकार पुन र सुटर विवेक थर नखुलेका फरार छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र रुपन्देही प्रहरीको संयुक्त टोलीले बलुको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये पदम हतियार र मोटरसाइकल व्यवस्थापन गर्ने अभियुक्त हुन् भने महेन्द्र वैकल्पिक ‘सुटर’ र पदमका सहयोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका पदम र महेन्द्रले हतियार र मोटरसाइकल व्यवस्थापनसहित मान्छेको सुराकी गर्ने काम गरेको र त्यसबापत उनीहरुले हुण्डीबाट रु दुई लाख लाख ३० हजार रुपैयाँ लिएको समेत खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । 

बलुको हत्यामा रु तीन लाख ३० हजार लिने गरी सहमति भए पनि रु एक लाख भने अभियुक्तले लिन बाँकी रहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै अभियुक्त विगतमा विभिन्न अपराधमा जेल सजाय भुक्तान गरी रिहा भएका आपराधिक पृष्ठभूमिकै रहेको समेत प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट नक्कली नम्बर लु ४ प १४ नं राखेर चलाएको मोटरसाइकल, ९ एमएमको एउटा इटालियन पेस्तोल, दुई वटा कटुवा पेस्तोल र नगद रु ९९ हजारबरामद गरेको छ । पौडेलको गत २१ पुसमा गोली हानी हत्या गरिएको थियो । 

पत्रकार सम्मेलनमा प्रहरीले गतवर्ष हत्या गरिएका देवदहकै इँटा व्यवसायी तथा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र बलुको हत्यामा एउटै पेस्तोल प्रयोग भएको खुलासा गरेको छ । 

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ गते हत्या भएको थियो भने उनका साथी एवं फर्निचर व्यवसायी बलुको गत पुस २१ गते हत्या भएको थियो । बलु हत्या घटनाका मुख्य सुटर थर र वतन नखुलेका विवेक भन्ने व्यक्ति रहेको र उनी हत्याको घटनाका मुख्य योजनाकार मनोज पुनको निकट व्यक्ति भएको समेत प्रहरीले जनाएको छ । 

पत्रकार सम्मेलनमा पक्राउ परेका अभियुक्तबाट बरामद गरिएका हतियारमध्ये ९ एमएमको इटालियन पेस्तोल तिवारी र पौडेल दुवैको हत्यामा प्रयोग भएको देखिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए । 

बलु हत्यापश्चात फरार अभियुक्तले हतियार घटनास्थलदेखि केही दक्षिणतर्फ खोलामा लुकाएको र अभियुक्त पदम सोही दिन राति आएर हतियार लगेर आफ्नै घर पछाडि गाडेको अवस्थामा बरामद गरिएको समेत प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै