• २०८१ बैशाख ८ शनिबार

मेयर शाक्यको आरोप — मलाई गुण्डा मेयर बनाइयो 

kharibot

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारहरुले आफूलाई गुण्डा मेयर बनाएको आरोप लगाएका छन् । आइतबार रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा मेयर शाक्यले आफूविरुद्ध जथाभावी समाचार लेखेको भन्दै उक्त गुनासो गरेका हुन् । 

पुनर्निर्माणको लागि धेरैभन्दा धेरै पैसा खर्च भएको छ, खर्च कसले व्यहोर्छ, मन्दिर कसले बनाउँछ भन्ने पत्रकारहरुको प्रश्नमा मेयर शाक्यले उक्त गुनासो गरेका हुन् । उनले भने, ‘मलाई गुण्डा मेयर भनियो, यसको जिम्मा कसले लिन्छ ?’ मिडियाहरु पनि नियममा नचलेको आरोप लगाउँदै मेयर शाक्यले प्रश्न गरे, ‘जे नि भन्न पाइन्छ ?’ 

आफूलाई ऐतिहासिक सम्पदा बेचेर खाएको भन्ने आरोप लगाइएको भन्दै मेयर शाक्यले आपत्ति समेत जनाए । उनले भने, ‘मैले अनुरोध गरेँ, मिडियाबाट साँचो समाचार मात्र आउनुपर्यो ।’ रानीपोखरीमा धेरै गहना तथा ७ वटा इनार थियो भन्ने कुरा आएको सन्दर्भमा उनले यहाँ छ भनेर देखाउन माग गरे । आफूहरु सोहीअनुसार काम गर्न तयार भए पनि नभएको कुरालाई छ भनेर समाचार बनाइएकोमा शाक्यको गुनासो थियो ।

विशेषज्ञ समितिले भन्यो — रानीपोखरी मल्लकालीन स्वरुपमा बनाऊ 

काठमाडौं । रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिले आइतबार रानीपोखरी जीर्णाेद्धारसम्बन्धी अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा समितिका संयोजक एवं पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएका हुन् । 

प्रतिवेदन बुझाउँदै समितिले रानीपोखरी पुनर्निर्माण प्रताप मल्लकै समयानुसारको स्वरुप र शैलीमा तदनुकूलका सामग्री प्रयोग गरेर पुनर्निर्माण गर्न महानगरलाई सुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक एवं समितिका संयोजक कार्कीले प्रतिवेदन बुझाउँदै रानीपोखरी मल्लकालीन स्वरुप, शैली र सामग्रीलाई प्रयोग गरेर बनाउनुपर्ने बताए । उनले भने, ‘प्राप्त गरेका र देखिएका प्रमाण, ऐतिहासिक स्रोतका आधारमा अध्ययन गरी मल्ल्कालीन शैलीमा रानीपोखरी पुनर्निर्माण गर्ने गरी प्रतीवेदन तयार पारिएको छ ।’ 

कार्यक्रममा मेयर शाक्यले पुनर्निर्माणमा आफूहरु जिम्मेवार भएको बताए । रानीपोखरी पुनर्निर्माणसम्बन्धी धेरै विवाद आएको र त्यसको समाधानकै लागि समितिलाई अध्ययन गर्न लगाएको मेयर शाक्यले बताए । उनले प्रतिवेदन अध्ययन गरेपछि मात्रै आफूले प्रतिक्रिया दिने बताए । उनले रानीपोखरी ग्रन्थकुट शैलीमा निर्माण भएको बताए । उनले भने, ‘रानीपोखरीलाई ऐतिहासिक तथा प्राचीन स्वरुपलाई यथास्थानमा राखेर सुन्दर बनाउँछौँ ।’  

उनले प्रतिवेदन बुझ्दै पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरणसँग छलफल गरेपछि मात्रै निष्कर्षमा पुग्ने बताए । त्यस्तै उनले रानीपोखरीको सुन्दरताको लागि कफीशप तथा झर्ना राख्ने र ३६५ दिन नै खुल्ने गरी बनाइने समेत उल्लेख गरे । 

यसअघि महानगरले आफ्नै तरिकाले रानीपोखरी पुनर्निर्माण गर्ने भन्दै चारैतर्फ खोतल्नथालेपछि त्यसको व्यापक विरोध भएको थियो । तीव्र विरोध भएपछि महानगरले अध्ययन गर्न भन्दै गत पुस १३ गते पुरातत्व विभागका पूर्वमहानिर्देशक कार्कीको संयोजकत्वमा भवन विभागका पूर्वमहानिर्देशक सुर्यभक्त साँगाछे, प्राधिकरणका सम्पदा महाशाखाका महानिर्देशक राजु मानन्धर, संस्कृतिविद् सुदर्शनराज तिवारी, विभागका स्ट्रक्चरल इञ्जिनियर पुरुषोत्म डंगोल, संस्कृतविद् काशीनाथ तमोट, विभागका डिभिजनल इन्जिनियर सम्पत घिमिरे, पुरातत्व अधिकृत रामबहादुर कुँवर, महानगरका चिनीयामान बज्रचार्य, भाइराम खड्गीको सदस्यतामा समिति गठन गरेको थियो ।

सो समितिमा सदस्यसचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा रहेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै