• २०८१ बैशाख ८ शनिबार

अस्थायी शिक्षकको लिखित परीक्षा सर्यो, अब भदौ १० गते हुने 

kharibot

भक्तपुर ।  शिक्षा सेवा आयोगले भदौ ३ गतेलाई निर्धारण गरेको अस्थायी शिक्षकका खुला प्रतियोगितात्मक लिखित परीक्षा भदौ १० गतेका लागि सारेको छ । 

तराई मधेशको बाढी पहिरोका कारण शिक्षकहरु परिक्षामा सहभागी हुन कठिन हुने भएका कारण परिक्षाको मिति सार्नु परेको शिक्षा सेवा आयोगले जनाएको छ ।

शिक्षा मन्त्रालयका सचिव शान्तवहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र मन्त्रालयकै सहसचिव हरि लम्सालले आयोग अध्यक्ष ताना गौतमलाई सोमबार भेटेर परिक्षा सार्न आग्रह गरेका थिए ।

शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पनि मंगलबार पोखरामा अस्थाई शिक्षकका मागप्रति सरकार सकरात्मक रहेको भन्दै अब अस्थायी शिक्षकको व्यवस्था नै नहुने गरी समस्या समाधान गर्ने बताएका थिए ।

अस्थायी शिक्षकमध्ये आन्तरिक प्रतिस्पर्धामा सहभागी भएर पनि अनुत्तीर्ण भएकालाई समेत सेवा(सुविधा दिनुपर्ने अस्थायी शिक्षकका माग पूरा गर्न समय लाग्ने भएकाले तत्कालका लागि परीक्षा सार्न मन्त्रालयका अधिकारीले अनुरोध गरे बमोजिम परीक्षा सारिएको बताइएको छ ।

हाल आफूहरूको माग पूरा गर्न दबाब दिने उद्देश्यले अस्थायी शिक्षक भद्रकालीमा आमरण अनशनमा छन्। उनीहरूको माग पूरा गराउनेतर्फ मन्त्रालय सकारात्मक रहे पनि शिक्षा ऐन संशोधन गर्नुपर्ने र यो काम भदौ ३ गतेअघि सम्पन्न गर्न कठिन रहेकाले पनि परीक्षा सारिएको बताइएको छ ।

आमरण अनशनमा बसेका शिक्षकले पनि यस विषयमा विगतमा सम्झौता भइसकेको र उक्त सम्झौता कार्यान्वयन नभई परीक्षा सम्पन्न भए माग ओझेलमा पर्ने बताउँदै माग पूरा नहुँदासम्म परीक्षाको मिति पर सार्न माग गर्दै आएका छन् ।

यसअघि मन्त्रालयका अधिकारीले अनशनरत शिक्षकका जीवन रक्षाका लागि भए पनि परीक्षा सार्न अनुरोध गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै