• २०८१ बैशाख ८ शनिबार

उद्योग मन्त्रालय र प्राधिकरणबीच समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

kharibot

फाइल फोटो ।

काठमाडौँ । उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजमा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ । 

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए पनि सेज आफैँले निर्माण गर्नुपर्ने सवस्टेशन निर्माणमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएको हो । 

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले सेजमा आगामी दुई महिनाभित्र विद्युत् उपलब्ध हुने बताउँदै आएका छन् । सरकारले विशेष आर्थिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र उद्योग सञ्चालनका लागि विद्युत् उपलब्ध हुने उहाँको भनाइ छ तर कार्यप्रगति हेर्दा सहज रुपमा विद्युत् उपलब्ध हुने अवस्था नरहेको प्राधिकरणको भनाइ छ । 

विशेष आर्थिक क्षेत्रले बनाउनुपर्ने ३३÷११ केभीको सवस्टेशन निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि नबढेकाले प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्याए पनि सवस्टेशन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले सहज रुपमा विद्युत् पाउन समस्या पर्ने अवस्था छ । 

प्राधिकरणले सेजसम्म विद्युत् पु¥याउनका लागि प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको छ । उपलब्ध विद्युत्लाई सवस्टेशन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको कार्यक्षेत्रमा पर्छ । 

नेपाल विद्युत् प्राधिकरण बुटवल क्षेत्रीय कार्यालयका प्रमुख सुरेश क्षेत्रीले प्राधिकरणले गर्नुपर्ने काम गरिरहेको भए पनि सेजभित्रै आफैँले गर्नुपर्ने काम अगाडि नबढाएकाले समस्या भएको जानकारी दिए । 

भैरहवा सेजले सवस्टेशन निर्माण गर्ने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् उपलब्ध गराउनेछ । सवस्टेशन निर्माणका लागि हालसम्म ठेक्का प्रक्रिया नै शुरु भएको छैन । 

प्राधिकरणकै कार्यक्षमतालाई हेर्दा सामान्य अवस्थामा सवस्टेशन निर्माण गर्न कम्तीमा पनि डेढ वर्ष लाग्छ । प्राधिकरणका अधिकांश सवस्टेशन तोकिएको समयमा पूरा भएका छैनन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् प्राधिकरणलाई दोष देखाएर सेजले व्यवस्थापनको आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको बताए । 

‘उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराइरहेका छौँ । निर्माणका कार्य गर्न कुनै समस्या छैन’, उनले भने, ’आगामी चैतभित्र हामी हाम्रो कार्यक्षेत्रभित्रको प्रसारण लाइन निर्माण गर्छौं र विद्युत् पुर्याउँछौँ । सेज व्यवस्थापनले सवस्टेशन बनाउने कामचाहिँ नगर्ने अनि विद्युत् जोडिएको छैन भन्दै हामीलाई दोष देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन । 

कूल ३३ केभी क्षमताको सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन नसकिने भएकाले तिलोत्तमा नगरपालिकाको जोइकुटी सवस्टेशनदेखि सेजसम्म डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । 

जोइकुटी–भरौलियाखण्डमा शान्ति वन सामुदायिक वन क्षेत्र भएर प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले समस्या भएको छ । वन क्षेत्रको जग्गा प्रयोगमा समस्या उत्पन्न भएको प्राधिकरण बुटवल क्षेत्रीय कार्यालयका प्रमुख क्षेत्रीको भनाइ छ । 

भरौलियाखण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयवासीले अवरोध गरेका छन् । अवरोध हटाएर काम सञ्चालन गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकार भएकाबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । 

‘अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुर्याउँछौँ, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन’ उनले भने, ‘तर सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको छैन ।’ 

सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीले विद्युत् नभएको भन्दै कुनै काम गरेका छैनन् । उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् भने ११ केभी लाइनमार्फत उपलब्ध गराइएको प्राधिकरणले प्रष्ट पारेको छ । 

उद्योग मन्त्रालयले सवस्टेशन निर्माणको काम छिट्टै शुरु हुने जनाएको छ । उद्योग सचिव खतिवडाले प्रक्रिया शुरु भएको जानकारी दिँदै सवस्टेशनकै कारण उद्योग खोल्न समस्या नहुने बताए । 

राष्ट्रिय योजना आयोगको केही दिन पहिले सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत सेजमा विद्युत् उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो । आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सेजमा विद्युत् उपलब्ध गराउन सबै उपाय अपनाइने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै