काठमाडौं । यो कम्प्युटरको जमानामा अब तपाईंले केही कुरा लेख्न कापी र कलम समाइरहनु नपर्ने भएको छ । गुगलले त्यस्तो प्रविधिको विकास गरेको छ, जसको प्रयोग गर्ने हो भने बोलेको कुरा स्वतः अक्षर बन्नेछन् । गुगलले आफ्नो जीबोर्डमा नेपाली भाषालाई पनि स्थान दिएको हो ।
यसको मतलब अब तपाईंले सधैँ टाइप गर्ने किबोर्डको सट्टा जीबोर्ड गुगल प्लेस्टोरबाट डाउनलोड गर्नुपर्नेछ । त्यसमा राखिएका शर्तबमोजिम मोबाइलको सेटिंग मिलाएर बोलेको कुरा सिधै अक्षरमा रुपान्तरण हुनेछ । अंग्रेजीमा यो सुविधा धेरै पहिलेदेखि नै भए पनि गुगलले अहिले नेपाली भाषामा पनि यो सुविधा दिएको छ । उक्त एपमा नेपाली भाषाबाट विभिन्न शब्दको गुगलले भण्डारण गरेको छ ताकि तपाईंले भनेको आवाज सुनेर गुगलको उक्त एपले सिधै त्यसलाई अक्षरमा रुपान्तर गरिदिनेछ । यसका लागि तपाईंले खालि बोल्दिए पुग्छ । विश्वका १ सय १९ भाषामा यो सुविधा दिइएको हो ।
यो सुविधा निकै सह्राहनीय काम भए पनि तत्कालका लागि नेपाली भाषाका प्रयोक्ताका लागि भने यो त्यति प्रभावकारी देखिँदैन । कारण यसमा सीमित शब्दहरु मात्र भण्डारण गरिएका छन् । जसले तपाईंले बोलेको शब्द नभेटिए मिल्दोजुल्दो अर्को शब्द लेखिदिन्छ । यसले तपाईंलाई केही गाह्रो हुन्छ । जे होस्, यदि थुप्रै शब्द भण्डारण गर्न सक्ने हो भने यसले पछि लेख्नको लागि कलम समाइरहन र कापी खोजीरहन नपर्ने पनि हुनसक्छ ।