• २०८१ बैशाख ६ बिहीबार

सडक सुरक्षाको मापदण्ड तय गरिने

kharibot

काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियर्स एशोसिएसनको सक्रियतामा सरोकार भएका निकायको उपस्थितिमा आइतबारदेखि दुईदिने सडक सुरक्षासम्बन्धी राष्ट्रिय गोष्ठी आयोजना हुनेभएको छ । 

विकासशील देशमा समेत चुनौतीका रुपमा रहेको सडक सुरक्षाको बहुआयामिक विषयका बारेमा गाष्ठीमा छलफल हुनेछ । सडकको अवस्था प्राथमिकताको विषय नबनेकाले न्यूनतम मापदण्ड बनाई लागू गराउने उद्देश्यले सरोकार भएका मन्त्रालय र त्यसअन्तर्गतका निकायको सहभागितामा कार्यक्रम आयोजना गरिएको एशोसिएसनले जनाएको छ । 

नीतिगत तहबाटै कार्यान्वयनका विषयमा संस्थागत तयारी गर्न सके सडक दुर्घटनाको स्थितिमा कमी आउने एशोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले बताए । 

“राज्य र सरोकार भएका निकायबीचको समन्वय तथा जनचेतनामूलक कार्यक्रम गरिने छ, यसैको सेरोफेरोमा अन्तर्राष्ट्रिय प्रचलन तथा मापदण्डको आधारमा नेपालको सडक क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो”, उनले भने । 

यातायात मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार), सडक बोर्ड नेपाल, एवं विश्व स्वास्थ्य संगठन, नेपाल उद्योग परिसंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल निर्माण व्यवसायी महासंघ, गैरआवासीय नेपाली संघ, भगत मेटल प्रालिलगायत सरकारी तथा निजी क्षेत्रमा कार्यरत सरोकार भएका निकायको समन्वय एवं सहकार्यमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञबाट सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक र आवागमन, सुरक्षित सवारी साधन, सडक प्रयोगकर्ता र दुर्घटनापछिको उद्धार विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । कार्यक्रमले सडक यातायातको क्षेत्रमा हुने दुर्घटनाको न्यूनीकरण गर्दै राष्ट्रिय विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ । 

कार्यक्रमको निष्कर्षले सडक सुरक्षाको सन्दर्भमा नीतिगत एवं संस्थागत रुपमै आवश्यक मापदण्ड तय गरी लागू गर्न सरकारलाई मद्दत मिल्ने आशा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै